केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ पात्रबाट नेपाली जनमानसमा परिचित घिमिरेको बाल्यकालसँगै कलाकारितामा स्थापित नहुँदासम्मको समय गरिबी र अभावमा बितेको छ । भदौ ६ गते उनी अभिनित ‘माग्ने राजा’ नामक फिल्म रिलिज हुँदैछ । फिल्मले एउटा गरिब मान्छे अचानक थामीनसक्नु धनी भयो भने के गर्ला? ऊ भित्रको पैसा मनोविज्ञानले उसलाई कुन भुमरी, हुण्डरी वा स्वर्गमा पुर्याउला? भन्ने कल्पनाको कथ्य प्रस्तुत गर्नेछ ।
फिल्मलाई लिएर निक्कै आशावादी देखिएका घिमिरे स्वयंका लागि पैसा के होला? उनीसँग मेरो पिक्चरले पैसा संवाद गर्दा यस्तो सुनिए :
पैसा के हो घिमिरेका लागि?
मेरा लागि पैसा सवारीसाधनजस्तो हो । यसको माध्यमबाट कुनै गन्तव्यमा पुग्न पनि सकिन्छ । मिलाउन सकियो भने राम्रो हो तर सकिएन भने दुर्घटनामा पनि पर्न सकिन्छ ।
बाल्यकालमा पैसा नहुँदा
अभावमा हुर्केका कारण घिमिरेको मनमा बाल्यकालदेखि नै पैसा कमाउनपर्छ जीवनमा भन्ने सोचको बीजारोपण भएको थियो ।
भन्छन् – पैसै त थिएन त्यतिबेला । गाउँमा बस्दाखेरी सबैथियो, पैसामात्रै थिएन हाम्रोसँग ।
पैसा नहुँदा धेरै कुरा नभएको, नपाएको अनुभवको भकारी उनीसँग छ । पैसाकै कारण बाल्यकालमा चप्पल नलगाएको कुरा आज पनि उनलाई हिजैजस्तो लाग्छ ।
‘पैसा नहुँदा बाल्यकालमा चप्पल लगाइएन । ओरालो–भिरालोमा चप्पल छिनिरहन्थ्यो, नयाँ ल्याइदिए पनि छिट्टै छिनिहाल्ने जसका कारण खुट्टामा धेरै समय चप्पल हुन्थेन । पैसा भएको भए सजिलो ठाउँमा पनि बसिन्थ्यो होला । अर्को भनेको स्कूलको ड्रेसमै पूरा सालको गुजारा । दशैंमा नयाँ लुगा किन्ने भनेकै त्यही स्कूलको ड्रेस । पढ्ने भएकाले स्कूलमा ड्रेस अनिवार्य, अनि किनिने लुगा भनेकै त्यही आकाशे रंगको सर्ट र गाढा निलो रंगको पाइन्ट सेट नै दशैंको लुगा हुन्थ्यो।’
त्यो भन्दा बेग्लै डिजाइन र रंगको पहिरनको माग हुँदा जवाफ हुन्थ्यो – नयाँ लुगा हालेको यही होइन, किन फेरि अर्को? प्रतिप्रश्न आउँथ्यो, जसमा थप सवालजवाफको के अर्थ? गरिबी र अभावमा यस्ता प्रश्न आफैं निरीह हुन्थे ।
यस्तै गरिबीले पिल्सिएका घिमिरेले पैसा पाउने गरी गरेको पहिलो काम बालुवा बोक्ने काम थियो । यसका लागि उनले स्कूलको छुट्टीको समयमा खटाए ।
‘४६–४७ सालतिरको कुरा होला सायद, ललितपुरको भट्टे डाँडामा एउटा कृषिसम्बन्धी भवन बनेको थियो सायद,’ माग्नेले धमिलो सम्झनालाई सम्झिंदै भने, ‘स्कूलको माथिपट्टि त्यो भवन बन्दै थियो । त्यो भवन बन्ने सिलसिलामा त्यहाँ एक ढ्वाङ, त्यो भनेको सात पाथीजति बालुवा बोकेर जसले खोलाबाट ल्याउँछ, त्यसलाई ४ रुपैयाँ भनेर भनिएको थियो।’
यस्तै पैसाका लागि गोराको झोला बोकेको पनि घिमिरेको स्मरणमा छ ।
विकाससम्बन्धी परियोजनाका लागि विभिन्न मुलुकका विदेशीहरू गाउँमा आउँथे । त्यतिबेलासम्म गाउँमा गाडीको सुविधा थिएन । गाडी चढ्न चापागाउँसम्म हिँडेर आउनुपर्थ्यो । उनी काठमाडौं फर्किने परियोजनाका विदेशीहरूको झोला बोकेर चापागाउँसम्म आउँथे ।
यसरी पनि कमाइयो पैसा
सानै उमेरमा संघर्ष गरेका ‘माग्ने बुढा’ २०५० सालतिर घरमा आगलागी भएपछि काठमाडौं छिरे ।
त्योबेला सिंहदरबार छिर्न सर्वसाधारणलाई आजजस्तो सुरक्षा जाँच थिएन, बेरोकतोक मुल प्रवेशद्वारबाट ओहोरदोहोर गर्न पाइन्थ्यो । त्यतिबेला माओवादी द्वन्द्वमा नेपाल छिरेको थिएन, जसका कारण यो आवतजावत निर्वाध थियो ।
त्योबेला हिँड्दा–हुँड्दा पैसा कमाएको प्रसंग पनि उनले ताजा गरे ।
‘म घण्टीबाहेक सबै बज्ने साइकल डोहोर्याएर सिंहदरबार जाँदै थिएँ । एकजना मान्छेले झ्यालमा हाल्ने ग्रिल उल्टो ल्याउनुभएको रहेछ । उहाँले म साइकल डोर्याउँदै हिँडिरहेको मान्छे भएकाले काम गर्ने होला भनेर सिंहदरबारको मूलगेटबाट माइतीघरमा वेल्डिङ गर्ने ठाउँसम्म लैजान हो भनेर सोध्नुभयो । मैले हुन्छ भनेँ । अहिले त्यो ठाउँमा न्यूरो अस्पताल छ । त्यो काम गरेबापत मैले २० रुपैयाँ पाएँ भने, फेरि सामान फर्काउने काम पनि मैले नै पाएँ र त्यो दिन फेरि २० रुपैयाँ गरेर ४० रुपैयाँ कमाएँ।’
ओहो! एकैदिनमा पनि यत्रो पैसा कमाइदो रहेछ?
काठमाडौं खाल्डोमा जारी संघर्षका बीच एक दशैंको अष्टमीको दिन उनले सोचेभन्दा धेरै पैसा कमाए । त्यो दिनसम्म उनले त्यति पैसा एकैदिनमा कमाइन्छ भनेर थाहा पाएका थिएनन् ।
‘अष्टमीको दिन थियो । म दशैंमा घर गइनँ । म त्यतिबेला लगनखेल बसपार्कको फुटपाथमा लुगा बेच्थें । दशैं उसैपनि व्यापारको सिजन, त्यो साल मैले एकैदिन २ हजार रुपैयाँ कमाएँ । त्यो दिनमै मैले जीवनमा पहिलो पटक एकैदिनमा दुई–दुई हजार रुपैयाँ कमाइदो रहेछ भन्ने थाहा पाएँ ।’
२ हजार कमाएपछि दंग परेका उनले दशैंमा घर नगएको चुकचुकलाई राम्ररी मल्हम लगाए ।
‘यो दशैंमा घर नगएर ठीक गरिएछ, गएको भए कहाँ यस्तो २ हजार कमाउन सक्थें र?’
पैसा हुँदो हो त आमा अलिक धेरै बाँच्थिन्
पैसा नभएर जीवनमा एउटा कुरामा बाहेक कहिले उस्तो दुखित भएको छैनन् घिमिरे । पैसै नभएका कारण उनलाई आजसम्म त्यही एउटा कुराले दुखित बनाइरहेको छ ।
सम्झन्छन् – सायद पैसा भएको भए आमालाई चाँडो गुमाउनुपर्दैन थियो कि?
‘अहिले सम्झँदा, यदि त्यतिबेला पैसा भएको भए मेरा बुबाले मेरी आमालाई भारतको कुनै राम्रो अस्पतालमा लगेर उपचार गरेर बचाउन सक्नुहुन्थ्यो होला जस्तो लाग्छ ।’
पैसाको बचत गर्नुपर्छ
अभावले उनलाई बचत गर्ने बानीको विकास गरायो । जीवनमा फेरि पैसा नहुन सक्छ, त्यसैले पैसा उडाउन हुन्न भन्ने उनको मन सधैं हुन्छ ।
‘साधा र सरल जीवन जिउने मेरो पहिलेदेखिकै विचार हो । यस्तो गर्दा भोलि पैसा कमाउन सकिएन भने बिरामी हुँदा वा अरु केही हुँदा काम लाग्छ । त्यसपछि कतै न कतै काम लाग्ने ठाउँमा लगानी गर्ने जसले भविष्यमा आफ्ना वा परिवारका लागि हित गर्छ ।’
टन्नै पैसा भए के गर्ने सपना थियो घिमिरेको?
१५ वर्ष विभिन्न डेरामा जीवन बिताए । त्यसपछि छोरो हुर्कँदै गएपछि, उसले आफ्ना साथीहरूको घर भएको थाहा पाएर, घरमा आएर भन्न थाल्यो– ‘उसको त घर हो नि बाबा’ भनेर साथीलाई महत्व दिन थालेपछि, छोरालाई महसुस भएछ भनेर पनि घिमिरेलाई लाग्न थाल्यो– घर भए हुन्थ्यो ।
पैसा भएपछि किनेको महँगो सामान
भन्छन् – पैसा नहुँदा एउटा दराज जोड्नु पनि महँगै भयो । त्यसपछि मोटरसाइकल किन्दा पनि त्यत्रो महँगो किन किने होला? अब गाडी किन्दा पनि त्यस्तो गाडी किन किनेको होला? भन्ने लाग्छ । खर्च थाम्न सक्छु कि सक्दिन भन्ने कुरा आफ्नै आर्थिक अवस्थामा भर पर्छ । पैसा नभए ब्राण्डेड जुत्ता किन्न पनि ठूलो कुरा हुन्छ ।
दानको चर्चा नगरौँ
‘दान गरेको कुरा नगरौँ होला । म दान गरिरहन्छु । मेरो सिद्धान्त नै छ– पढ्ने र दान गर्ने अनि स्वास्थ्यको ख्याल गर्ने । यी ३ कुरा सधैं गर्नुपर्ने रहेछ ।’
फसेको पैसा
अहिलेको हिसाबले २०–३० लाख बढी नै छ ।
मासिक खर्च
म सरल जीवन जिउने भएकाले खासै खर्च छैन । बेस्सरी खर्च हुने मासु र रक्सीमा हो, त्यो दुबै चीज म खान्नँ । ब्राण्डेड पनि खासै लगाइँदैन । सामान्य कपडाले हुन्छ । सपिङ पनि सर्वसाधारणले जहाँ गर्छन् त्यही गर्छु, विशेष ठाउँ भन्ने छैन ।
पैसाका कारण रोकिएको सपना
त्यस्तो ठूलो सपनै छैन । ठूलो सपना बनाए फेरि जटिल हुन्छ ।
पैसा कमाउने सूत्र
‘मान्छे–पिच्छे फरक हुन्छ होला, तर मेरो हकमा इमानदारी र मेहनत हुनुपर्छ । हामी अरूका लागि काम लाग्ने मान्छे बन्नुपर्छ । यदि म कसैका लागि काम लाग्ने भएँ भने, त्यसका लागि बोलाइन्छ, अनि त्यसैबाट पैसा कमाइन्छ ।’