‘काजी’को प्रेमिल ट्रेलर सार्वजनिक, विपिन–केकीको केमेस्ट्रीले बढायो दर्शकको प्रतिक्षा

0 Shares

आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली फिल्म काजी को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले प्रेम, सम्बन्ध र पारिवारिक उतारचढावलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।

सार्वजनिक ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रमा देखिएका छन्। विवाहपछिको एक जोडीबीचको प्रेम, समझदारी र सम्बन्धमा आउने संघर्षलाई ट्रेलरले आकर्षक ढंगले देखाएको छ।

ट्रेलरमा फिल्मको भव्य मेकिङ, भावनात्मक दृश्य र संवादले दर्शकको ध्यान खिच्न सफल देखिन्छ। प्रेमिल प्रस्तुतिसँगै विपिन र केकीको केमेस्ट्रीले दर्शकमाझ फिल्मप्रति थप उत्सुकता सिर्जना गरेको छ।

रामप्रसाद रिजाल को प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजाल ले निर्देशन गरेका हुन्। प्रदीप भारद्वाज को लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटा को संगीत, श्याम कुँवर को रंग संयोजन तथा सागर अर्याल को साउण्ड डिजाइन रहेको छ।

फिल्मलाई श्रीराम बालाजी फिल्मस् ले नेपालभर वितरण गर्नेछ। यसअघि सार्वजनिक पोस्टर, प्रिभ्यू तथा ‘वारी बर, पारी पीपलु’ बोलको गीतले राम्रो प्रतिक्रिया पाएपछि ट्रेलरप्रति दर्शकको प्रतिक्षा बढेको थियो। ट्रेलर सार्वजनिक भएसँगै अब फिल्मप्रति दर्शकमाझ उत्साह अझ चुलिएको देखिन्छ।

सम्बन्धित समाचार

सबै