फरक प्रस्तुतिका कारण फिल्म ‘ककाकिकी’को ट्रेलरले यतिबेला दर्शकको ध्यान खिचिरहेको छ। सार्वजनिक भएको पाँच दिनमै ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको छ। नेपालको युट्युब मुभिज ट्रेन्डिङ चार्टमा पनि यो तेस्रो स्थानमा पुगेको छ।
ट्रेलरको प्रस्तुति, दृश्य संयोजन र कथावस्तुलाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा यसको फरक शैलीको विशेष चर्चा छ।
एक दर्शकले ट्रेलरलाई अनौठो र सिनेम्याटिक भन्दै निर्देशक बिक्की अग्रवाल तथा उनको टिमको कामको प्रशंसा गरेका छन्। अर्का दर्शकले विदेशी फिल्ममा देखिने शैलीको प्रस्तुति नेपाली फिल्मको ट्रेलरमा देख्न पाएको भन्दै उत्साह व्यक्त गरेका छन्।
ट्रेन्डिङ चार्टमा बलिउड फिल्म ‘मातृभूमि’को ट्रेलर पहिलो र नेपाली फिल्म ‘बाटुलो जून’को ट्रेलर दोस्रो स्थानमा छन्। ‘ककाकिकी’ तेस्रो स्थानमा रहन सफल भएको हो।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकार छन्।
श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्मको कन्सेप्ट सुमन अग्रवालको हो। बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेको फिल्मको स्क्रिप्ट डक्टर विश्वास तिमल्सिना (बीटी कान्छा) हुन्।
सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिश बुढाथोकी मुख्य सहायक निर्देशक र विशाल राई सहायक निर्देशक छन्। अनिश तामाङले मेकअप, सुमन परियारले कस्ट्युम डिजाइन र अरुण रेग्मीले प्रोडक्सन हेडको जिम्मेवारी सम्हालेका छन्।
ओएसआर डिजिटलसँग फिल्मको डिजिटल अधिकार छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले लिएको छ। फिल्म मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।