नेपाली फिल्मको बक्स अफिसमा कहिलेकाहीँ प्रदर्शन मितिले पनि रोचक कथा जन्माउँछ। एउटै दिन रिलिज हुने दुई फिल्मबीचको प्रतिस्पर्धा स्वाभाविक हो। तर जब ती फिल्मको केन्द्रमा दुई अभिनेत्री हुन्छन् र दुवैले फरक परिवेशका बलिया महिला चरित्र बोकेका हुन्छन्, प्रतिस्पर्धाको अर्थ केही फराकिलो हुन्छ। आगामी मंसिर ४ गते यस्तै एउटा रोचक संयोग नेपाली बक्स अफिसमा देखिँदैछ। अभिनेत्री उपासना सिंह ठकुरी र परीक्षा लिम्बु आफ्ना फिल्म ‘जलाकी’ र ‘हिमालयन गोल्ड’मार्फत एकैसाथ दर्शकमाझ आउँदैछन्।
यो केवल दुई फिल्मको प्रदर्शन जुधाइ होइन, दुई अभिनेत्रीको लोकप्रियता, अभिनय क्षमता र दर्शकसँगको सम्बन्धको परीक्षण पनि हो। उपासनाका लागि यो आफ्नो स्थापित दर्शकवर्गलाई नयाँ चरित्रमार्फत जोड्ने अवसर हो भने परीक्षाका लागि फरक कथावस्तु र चुनौतीपूर्ण भूमिकामार्फत आफ्नो उपस्थिति बलियो बनाउने मौका।
लोकप्रियताको भरोसामा उपासना
उपासना सिंह ठकुरी नेपाली फिल्ममा स्थापित हुँदै गएको नाम हो। ‘क्याप्टेन’, ‘कबड्डी ४’, ‘डिसेम्बर फल्स’ र ‘खुस्मा’जस्ता फिल्ममार्फत उनले दर्शकमाझ आफ्नो पहिचान बनाएकी छन्। ‘खुस्मा’बाट त उनले सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार नै जितेकी छन् । उनको अभिनय र पर्दामा देखिने सहज उपस्थितिले एउटा निश्चित दर्शकवर्ग तयार गरेको छ। त्यसैले ‘जलाकी’को प्रदर्शन उनका लागि अर्को फिल्म थपिनु मात्र होइन, आफ्नो अभिनय यात्रामा नयाँ आयाम थप्ने अवसर पनि हो।
अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको ‘जलाकी’मा उपासना लिसाराको भूमिकामा छिन्। फिल्मले प्रेम र सम्बन्धको परिधिभन्दा बाहिर पुगेर पारिवारिक संवेदना, बाल्यकालका सम्झना र वैदेशिक रोजगारीले निम्त्याउने सामाजिक तथा मनोवैज्ञानिक प्रभावलाई समेटेको छ। विशेषगरी खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाले भोग्ने शोषण र त्यसको असर परिवार तथा बालबालिकामा कसरी पर्छ भन्ने पक्ष फिल्मको महत्त्वपूर्ण विषय हो।
लिसाराको चरित्रमार्फत उपासनाले यसपटक भावनात्मक पक्षलाई बढी महत्त्व दिनुपर्ने देखिन्छ। सोनम तोप्देन, शिल्पा मास्केलगायतका कलाकारको समेत अभिनय रहेको फिल्मले सम्बन्ध र स्मृतिको कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ।
उपासनाको बलियो पक्ष उनको स्थापित लोकप्रियता हो। तर त्यही लोकप्रियतालाई नयाँ कथावस्तु र फरक चरित्रमार्फत निरन्तरता दिन सक्नु उनको अर्को चुनौती पनि हो। ‘जलाकी’ले उनलाई परिचित छविभन्दा बाहिर लैजान सक्छ कि सक्दैन भन्ने चासो पनि रहनेछ।
फरक कथाको दाउमा परीक्षा
परीक्षा लिम्बुका लागि ‘हिमालयन गोल्ड’ आफ्नो अभिनय क्षमतालाई फराकिलो दर्शकवर्गसम्म पुर्याउने महत्त्वपूर्ण अवसर बन्न सक्छ। धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्ममा उनी सोनामको मुख्य भूमिकामा छिन्। हिमाली भूगोल, यार्सागुम्बाको कारोबार, त्यससँग जोडिएको आर्थिक निर्भरता, अपराध र संघर्ष फिल्मका प्रमुख विषय हुन्।
सन् १९९० को परिवेशमा आधारित फिल्मले यार्सागुम्बा टिप्न जाने समुदायको जीवन र त्यहाँ हुने लुटपाट तथा मानवीय क्षतिका घटनालाई कथामा समेटेको छ। रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको जीवनसँग जोडिएको विषयलाई पर्दामा उतार्नु फिल्मको महत्त्वपूर्ण पक्ष हो।
परीक्षाका लागि सोनामको चरित्र केवल एउटा महिला पात्र निर्वाह गर्ने अवसर मात्र होइन, कथाको भावनात्मक र नाटकीय पक्षलाई आफ्नो अभिनयमार्फत प्रभावकारी बनाउने चुनौती पनि हो। कर्मा शाक्य, स्वर्गीय सुनिल थापा, मेनुका प्रधानलगायतका कलाकारसँग पर्दा साझा गरेकी परीक्षाको कामलाई फिल्मको प्रिमियरपछि पनि प्रशंसा मिलेको छ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उनको अभिनय मन परेको प्रतिक्रिया दिएका थिए। निर्देशक दीपेन्द्र के खनालले पनि परीक्षासहितका कलाकारको अभिनयको प्रशंसा गरेका थिए। अभिनेता नाजिर हुसेनले फिल्मको अन्त्यमा प्रस्तुत गरिएको महिलाको दृष्टिकोणलाई विशेष रूपमा मन पराएको बताएका थिए।
फिल्मको फरक विषयवस्तु, हिमाली लोकेसन र अन्तर्राष्ट्रिय बजारको सम्भावनाले परीक्षाको भूमिकालाई थप चासोको विषय बनाएको छ। भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले वितरण गर्ने तयारीले पनि फिल्मको बजार विस्तारको सम्भावना देखाएको छ।
कसको पक्षमा जाला बक्स अफिसको गणित?
बक्स अफिसमा कलाकारको लोकप्रियता महत्त्वपूर्ण हुन्छ, तर त्यतिले मात्रै फिल्मको व्यापार सुनिश्चित गर्दैन। फिल्मको विषयवस्तु, ट्रेलरबाट बनेको अपेक्षा, प्रचारप्रसार, प्रदर्शनमा प्राप्त हुने शो, दर्शकको प्रतिक्रिया र माउथ पब्लिसिटीले व्यापारको दिशा तय गर्छन्।
यस हिसाबले उपासना र परीक्षाको अवस्था फरक छ। उपासनासँग स्थापित दर्शकवर्ग र लोकप्रियताको लाभ छ। उनका अघिल्ला फिल्मले बनाएको पहिचान ‘जलाकी’का लागि सुरुवाती आकर्षण बन्न सक्छ। तर ‘जलाकी’को व्यापार त्यसको भावनात्मक कथा र दर्शकसँगको सम्बन्धमा निर्भर रहनेछ।
परीक्षाका लागि ‘हिमालयन गोल्ड’ फरक विषयवस्तुको बलमा दर्शक आकर्षित गर्ने अवसर हो। यार्सागुम्बासँग जोडिएको सामाजिक यथार्थ, हिमाली दृश्य र अपराधको कथाले फिल्मलाई परम्परागत नेपाली फिल्मभन्दा फरक बनाउने सम्भावना छ। त्यसमाथि प्रिमियरपछि आएको सकारात्मक प्रतिक्रियाले फिल्मप्रति थप उत्सुकता सिर्जना गर्न सक्छ।
यहाँ एउटा महत्त्वपूर्ण पक्ष के पनि छ भने दुवै फिल्मको दर्शकवर्ग पूर्ण रूपमा एउटै नहुन सक्छ। ‘जलाकी’को भावनात्मक र सामाजिक कथाले सम्बन्धमा आधारित फिल्म रुचाउने दर्शकलाई आकर्षित गर्न सक्छ भने ‘हिमालयन गोल्ड’को फरक कथावस्तु, अपराध र हिमाली परिवेशले अर्को समूहलाई हलसम्म ल्याउन सक्छ।
प्रतिस्पर्धाभन्दा ठूलो कुरा, दुई फरक महिला चरित्र
नेपाली फिल्ममा महिला पात्र प्रायः पुरुष पात्रको कथालाई अगाडि बढाउने माध्यमका रूपमा सीमित हुने गरेको आरोप लाग्दै आएको छ। तर ‘जलाकी’ र ‘हिमालयन गोल्ड’मा मुख्य भूमिकामा रहेका उपासना र परीक्षाका चरित्रले महिलालाई कथाको केन्द्रमा राख्ने अवसर पाएका छन्।
लिसाराको संसार पारिवारिक सम्बन्ध, प्रेम र सामाजिक यथार्थसँग जोडिएको छ भने सोनामको संसार हिमाली जीवन, संघर्ष र अपराधसँग। दुवै चरित्रको पृष्ठभूमि फरक भए पनि उनीहरूलाई पर्दामा जीवन्त बनाउने जिम्मेवारी दुई अभिनेत्रीको काँधमा छ।
त्यसैले मंसिर ४ को प्रतिस्पर्धालाई एउटीले जित्दा अर्की हार्ने सामान्य बक्स अफिस भिडन्तका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। नेपाली फिल्ममा फरक विषय र महिला केन्द्रित कथाले दर्शक पाउँछन् कि पाउँदैनन् भन्ने परीक्षणका रूपमा पनि यसलाई लिन सकिन्छ।
अन्ततः उपासनाको लोकप्रियताले ‘जलाकी’लाई कति साथ दिन्छ र परीक्षाको अभिनयले ‘हिमालयन गोल्ड’लाई कति उचाइमा पुर्याउँछ, त्यो प्रदर्शनपछि स्पष्ट हुनेछ। अहिलेका लागि भने नेपाली बक्स अफिसमा एउटा रोचक प्रश्न खडा भएको छ– मंसिर ४ मा दर्शकको मनमा बस्ने लिसारा हुन् कि सोनाम?