दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको फिल्म ‘हिमालयन गोल्ड’ शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। थापाको अन्तिम फिल्म भएकाले यसको प्रदर्शनलाई नेपाली दर्शकमाझ विशेष चासोका साथ हेरिएको छ।
धीराज राजवंशीको निर्देशनमा बनेको यो फिल्म यार्सागुम्बाको लोभमा हिमाली क्षेत्रमा सिर्जना हुने संघर्ष, हिंसा र मानवीय स्वार्थमा केन्द्रित छ। थ्रिलर तथा ड्रामा विधामा बनेको फिल्मले सन् १९९० को परिवेशलाई आधार बनाएको छ।
यार्सागुम्बा संकलनका क्रममा हुने लुटपाट र असुरक्षाबीच आफ्नो परिवार तथा मेहनतले जुटाएको सम्पत्ति जोगाउन एक युवतीले गर्ने संघर्ष फिल्मको प्रमुख कथा हो। अस्तित्वको लडाइँ, प्रतिशोध र साहसलाई समेत फिल्मले समेटेको छ।
नेपालमा एडल्ट (ए) र भारतमा यूए १६ प्लस सर्टिफिकेट प्राप्त गरेको फिल्ममा सुनील थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बु, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्कालगायत कलाकार छन्।
करिब ४ हजार ८०० मिटर उचाइमा छायांकन गरिएको फिल्मले रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवनशैली तथा आर्थिक निर्भरताको कथा पनि देखाउँछ।
बुधबार ठमेलस्थित छायाँ सेन्टरमा फिल्मको प्रिमियर आयोजना गरिएको थियो। प्रिमियरमा सहभागी सेलिब्रेटीले फिल्मको कथावस्तु, हिमाली दृश्य र कलाकारको अभिनयको प्रशंसा गरेका थिए।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको पटकथा दीपेन्द्र गौचन र धीराज राजवंशीले लेखेका हुन्। मीनबहादुर भाम निर्माता, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन्।
भारतमा एए फिल्म्सले वितरण गरेको फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरण गरेका छन्।