कान्समा छनोट भएको ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक, हराएको सन्तान खोज्ने आमाको संघर्ष

0 Shares

काठमाडौं । आगामी नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक गरिएको छ। विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिवलको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको फिल्मले ट्रेलरमार्फत भावनात्मक र संवेदनशील कथा प्रस्तुत गरेको छ।

अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित फिल्मको ट्रेलरमा जंगली हात्तीको आतंकले त्रसित बनेको गाउँ, हराएको सन्तानको खोजीमा भौतारिएकी आमा र न्याय तथा सुरक्षाका लागि प्रहरीसमक्ष पुगेका पीडित गाउँलेहरूको कथा देखाइएको छ। विशेषगरी सन्तान खोज्ने आमाको संघर्ष र त्यस क्रममा उसले भोग्नुपरेका अवरोधलाई ट्रेलरले मार्मिक ढंगले चित्रण गरेको छ।

निर्माणपक्षका अनुसार ‘एलिफेन्ट्स इन द फग’ले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बस्ने अल्पसंख्यक समुदायको जीवन र पीडालाई केन्द्रमा राखेको छ। सामाजिक यथार्थसँगै मानवीय संवेदनाको कथा बोकेको फिल्मले अन्तर्राष्ट्रिय स्तरमै चासो बटुलिरहेको छ।

फिल्ममा पुष्पा थिङ, दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङउमेश पाण्डेलगायत कलाकारको अभिनय रहेको छ। साथै गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मीआकांक्षा कार्कीको पनि अभिनय रहेको छ।

फिल्मको निर्माण जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठले गरेका हुन्। अन्डरग्राउन्ड टकिज नेपालका अनुप पौडेल पनि निर्माता रहेका छन्।

फिल्ममा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका अन्तर्राष्ट्रिय निर्माताहरूको समेत सहभागिता रहेको छ। फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स र पल जिश्लर, ब्राजिलबाट तातियाना लेइते र लेओनार्दो मेक्की तथा नर्वेबाट भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माताका रूपमा जोडिएका छन्।

यसका साथै मिन भाम, प्रवेश गुरुङ, केकी अधिकारी, प्रतीक सुवेदी, प्रतिभा जोशी, सन्तोष भट्टराई, आदित्य बस्नेत र अनोज पौड्यालले पनि निर्माण टिममा योगदान दिएका छन्।

निर्देशक अविनाश विक्रम शाह यसअघि आफ्नो लघु फिल्म लोरीमार्फत कान्समा पुरस्कार जितिसकेका छन्। उनी कालो पोथी, शाम्बाला तथा सिंह दरबार  पटकथाकारका रूपमा पनि परिचित छन्।

सम्बन्धित समाचार

सबै