‘एक मुठ्ठी बादल’को प्रिमियरमा बेहुली बनेर पुगिन् आँचल शर्मा

0 Shares

काठमाडौं । आगामी नेपाली फिल्म एक मुठ्ठी बादलको भव्य प्रिमियर बुधबार सम्पन्न भएको छ। यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रिमियरमा मुख्य अभिनेत्री आँचल शर्मा बेहुली अवतारमा प्रस्तुत भएपछि कार्यक्रमको विशेष आकर्षण बनेकी थिइन्।

महिला नौमति बाजा समूहको सांगीतिक स्वागतबीच आँचल रातो रंगको आकर्षक गाउन र लामो घुम्टोसहित प्रिमियर स्थलमा प्रवेश गरेकी थिइन्। उनको पहिरन डिजाइनर मनिस राईले तयार गरेका हुन्। सामाजिक सञ्जालमा आँचलको ‘हट बेहुली’ अवतारको चर्चा भइरहेको छ।

सहारा शर्माद्वारा निर्देशित फिल्मको प्रिमियरमा पनि महिलाको उपस्थितिलाई विशेष प्राथमिकता दिइएको देखिएको थियो। फिल्ममा आँचलले ‘माइली’ नामक पात्र निर्वाह गरेकी छन्, जसको विवाहको तयारीसँगै भावनात्मक उतारचढावको कथा प्रस्तुत गरिएको छ।

फिल्मले विवाहसँग जोडिएका सामाजिक अपेक्षा, महिलाले भोग्ने व्यक्तिगत संघर्ष र मध्यमवर्गीय नेपाली परिवारको यथार्थलाई संवेदनशील ढंगले उठाएको प्रतिक्रिया प्रिमियरमा सहभागी दर्शकहरूले दिएका छन्।

निर्देशक सहारा शर्माले भनिन्, “एक मुठ्ठी बादल नेपाली फिल्ममा कम देखाइने महिलाका भावना र अनुभवमा आधारित कथा हो।”

प्रिमियरमा निर्माता अभिमन्यु दीक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा कलाकार र निर्माण टिमसँग सञ्चारकर्मीहरूको अन्तरक्रिया पनि गरिएको थियो।

दर्शकहरूले फिल्मको कथावस्तु, अभिनय र कथावाचन शैलीको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा स्थानीय कथा र समकालीन नेपाली फिल्मको प्रतिनिधित्वबारे पनि छलफल गरिएको थियो।

निर्माता अभिमन्यु दीक्षितले भने, “हामीले मनदेखि फिल्म बनाएका छौं। अब यसलाई दर्शकमाझ पुर्‍याउने जिम्मा तपाईंहरूको पनि हो।”

एक मुठ्ठी बादल यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै