काठमाडौं । टिका (TIKA: Stateless Soul) को शुभमुहूर्त सम्पन्न भएको छ। भविष्य फिल्मस् प्राली र थर्ड आइ आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको मुहूर्त बिहीबार पाटनस्थित बगलामुखी मन्दिरमा गरिएको हो।
विशेष कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरिएको थियो। तीजको अवसर पारेर आगामी भदौ २६ गते प्रदर्शन मिति तय गरिएको फिल्म यसै सातादेखि छायांकनमा जाने निर्माणपक्षले जनाएको छ।
कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद सहन बाध्य महिलाको गम्भीर कथामा फिल्म निर्माण गर्न लागेको बताइन्। पछिल्लो सफल फिल्म जेरी अन टपकी निर्मात्रीसमेत रहेकी खड्काले उक्त फिल्मबाट प्राप्त अनुभव र सिकाइलाई ‘टिका’मा प्रयोग गर्ने बताइन्। उनी आगामी दशैं रिलिज लक्षित बाटुलो जुनकी पनि निर्माता हुन्।
शंकर कार्कीको निर्देशनमा बन्न लागेको टिकालाई निर्माण टिमले महिला प्रधान फिल्मका रूपमा प्रस्तुत गरेको छ। फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकालको मुख्य अभिनय रहनेछ। कार्यकारी निर्माता तेजविक्रम केसी हुन्।
पारिवारिक समस्याका कारण निर्देशक शंकर कार्की मुहूर्त कार्यक्रममा उपस्थित हुन सकेनन्। फिल्मको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा विश्वास तिम्सिना (बिटी कान्छा) को रहेको छ।
फिल्ममा कालीप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ भने नरेन्द्र मैनाली सिनेमाटोग्राफरका रूपमा रहेका छन्।
कार्यक्रममा कलाकारहरूले फिल्मको विषयवस्तु, टिमको ऊर्जा र आफ्नो भूमिकाबारे धारणा व्यक्त गरेका थिए। अभिनेत्री प्रियंका कार्की र वर्षा सिवाकोटीले यो फिल्म आफ्नो करियरकै विशेष परियोजनामध्ये एक रहेको बताएका छन्।
प्रियंका कार्कीले भनिन्, “मेरो जीवनका लागि यो फिल्म, यो यात्रा र मेरो पात्र सबै विशेष छन्। जुन विषयमा यो कथा तयार भएको छ, सायद यस्तो कथा नेपाली फिल्ममा अहिलेसम्म देखाइएको छैन। म निकै उत्साहित छु।”
त्यस्तै वर्षा सिवाकोटीले निर्माता भविष्य खड्का तथा सहकलाकार प्रियंका कार्की र महेश त्रिपाठीसँगको सहकार्य उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिन्।