निर्देशक प्रवेश पौडेल को निर्देशनमा नयाँ नेपाली फिल्म मेरो प्रेम अधुरो निर्माण हुने भएको छ। यसअघि अमेरिका बोइज र बिहे पास निर्देशन गरिसकेका पौडेलको यो तेस्रो फिचर फिल्म हुनेछ।
निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी साउनदेखि नेपालमा सुरु गरिनेछ। नेपालपछि युरोप र अष्ट्रेलियामा समेत फिल्मको छायांकन गरिने तयारी रहेको छ।
फिल्ममा अभिनेता कबिर खड्का मुख्य भूमिकामा देखिनेछन्। उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भइरहेको निर्देशक प्रवेश पौडेल ले बताएका छन्। निर्माण टिमले दुवै अभिनेत्रीलाई अडिसनमार्फत चयन गर्ने तयारी गरेको छ।
सितारा फिल्म्स र कबिर खड्का फिल्म्स को ब्यानरमा निर्माण हुने फिल्मलाई सुरेन्द्र रावल ले निर्माण गर्नेछन्। अभिनेता कबिर खड्का स्वयं पनि फिल्मका निर्माता हुन्।
फिल्म निर्माणबारे बोल्दै कबिर खड्का ले दर्शकमाझ सुन्दर प्रेमकथा प्रस्तुत गर्ने उद्देश्यसहित आफू निर्माणमा आएको बताएका छन्। फिल्मका सह–निर्माता करण खड्का हुन्।
फिल्ममा शरद महतो को डीओपी, अर्जुन कटुवाल को संगीत तथा बम बहादुर थापा क्रियटिभ निर्देशकका रूपमा रहेका छन्।