गतवर्ष रिलिज भएको फिल्म ‘राम नाम सत्य’बाट चर्चा कमाएका निर्देशक माइकल चन्द ले नयाँ फिल्म ‘हेराई’ घोषणा गरेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म अहिले तीव्र प्रि–प्रोडक्सन चरणमा रहेको छ ।
निर्देशक माइकलले केही महिनाभित्रै फिल्मको छायांकन सुरु गर्ने तयारी गरेका छन् । एक्सन जनरामा बनेको ‘राम नाम सत्य’पछि यसपटक भने उनले पूर्ण रूपमा प्रेमकथामा आधारित फिल्म निर्देशन गर्न लागेका हुन् ।
‘राम नाम सत्य’ले नेपाली बक्स अफिसमा करिब साढे ३ करोड रुपैयाँ ग्रस कलेक्शन गरेको थियो । अब भने माइकलले दर्शकमाझ फरक स्वादको लभ स्टोरी ल्याउने तयारी गरेका छन् ।
‘एक हेराई अनेक बुझाई’ ट्यागलाइन राखिएको फिल्म ‘हेराई’मा हालसम्म कलाकारहरू फाइनल भइसकेका छैनन् । फिल्मलाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमली ले निर्माण गर्नेछन् ।
सह–निर्मातामा राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् ।
फिल्मबारे निर्देशक माइकल भन्छन्, “यसपटक हामी पूर्ण रूपमा प्रेमकथामा केन्द्रित फिल्म बनाउँदैछौं । मानिस अनुसार हेराइ र बुझाइ फरक हुने विषयलाई फिल्मले उठाउनेछ ।”
निर्माण टिमले ‘हेराई’लाई यही वर्षभित्र रिलिज गर्ने योजना समेत बनाएको जनाएको छ ।