सलिनमान बनियाँ अब नयाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत पर्दामा फर्किने भएका छन् । तर, यसपटक दर्शकमाझ सबैभन्दा बढी चासोको विषय बनेको छ—उनको नयाँ जोडी ।
सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा सलिनमानले जापानी नायिका मीना यसोदा सँग रोमान्स गर्ने पक्का भएको छ । निर्माण टिमले मीनालाई औपचारिक रूपमा फिल्मकी मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिसकेको जनाएको छ ।
नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि भएकी मीना हाल जापानमै बस्दै आएकी छन् । उनका बुवा नेपाली र आमा जापानी हुन् । यद्यपि, निर्माण पक्षले उनको थप व्यक्तिगत विवरण भने गोप्य राखेको छ ।
केही समयअघि सार्वजनिक गरिएको फिल्मको ‘फर्स्ट लुक’ ले नै ‘युनिभर्सिटी अफ गुण्डाज’ सामान्य नेपाली फिल्मभन्दा फरक शैली र प्रस्तुतिमा आउने संकेत दिएको थियो । अझ विशेष कुरा के छ भने, फिल्मको कथा स्वयं सलिनमानले लेखेका हुन् ।
फिल्मलाई सुरेश न्यौपाने ले निर्देशन गरिरहेका छन् । मुख्य भूमिकामा सलिनमान बनियाँ, मीना यसोदा र सलोन बस्नेत देखिनेछन् ।
निर्माण टिमले हालसम्म अन्य कलाकार र प्राविधिकहरूको विस्तृत जानकारी सार्वजनिक गरेको छैन । ‘फर्स्ट लुक’प्रति दर्शकको प्रतिक्रिया बुझिसकेपछि मात्रै प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण पक्षको छ ।
फिल्मको प्राविधिक टिम पनि बलियो देखिएको छ । डिओपीमा सौरभ लामा, स्क्रिन प्लेमा मन्दिप गौतम, ब्याकग्राउण्ड स्कोरमा रोमन बज्रचार्य, एक्सन निर्देशनमा सम्राट बस्नेत, भिएफएक्समा मनोज श्रेष्ठ, सम्पादन तथा ट्रेलरमा बन्दे प्रसाद, साउण्ड डिजाइनमा मुकेश शाह र कलरमा राजेन्द्र मोक्तान रहेका छन् ।
यस्तै, प्रोडक्सन व्यवस्थापनमा सुवास काफ्ले र असिस्टेन्ट प्रोडक्सन म्यानेजरमा केवलमान सिंह बस्नेत कार्यरत छन् ।