नेपाली फिल्मका दुई चर्चित अभिनेता दयाहाङ राई र सौगात मल्ल फेरि एकपटक एउटै पर्दामा देखिँदैछन् । तर, यसपटक उनीहरूको सम्बन्ध केवल मित्रताको छैन, कथाको केन्द्रमै छ तीव्र टकराव ।
निर्देशक अनिल बुढा मगर को फिल्म ‘मितज्यू’ले यी दुई कलाकारलाई मुख्य भूमिकामा प्रस्तुत गरेको छ । दुई ‘मित’ अर्थात् आत्मीय मित्रबीचको सम्बन्ध, त्यसमा एक युवतीको प्रवेश र रुटमा हालेको गाडीलाई लिएर उत्पन्न हुने तनावले फिल्मको कथा अगाडि बढ्छ ।
फिल्ममा दयाहाङ राई र सौगात मल्ल बीचको नोकझोक, मतभेद र संघर्ष नै मुख्य आकर्षण हुने निर्माण टिमको दाबी छ । निर्देशक अनिल भन्छन्, “दयाहाङ र सौगात दुवै फिल्मका हिरो हुन्, तर द्वन्द्व पनि उनीहरूबीच नै छ । यही कुरा दर्शकलाई विशेष लाग्ने विश्वास लिएका छौं ।”
नेपाली समाजमा ‘मित’ सम्बन्धलाई निकै पवित्र मानिन्छ । मित भएपछि एकले अर्काको नामसमेत उच्चारण नगर्ने परम्परा रहेको मान्यता छ । तर, ‘मितज्यू’मा भने यही सम्बन्धभित्र झगडा, रिस र टकराव देखाइने भएकाले फिल्मले दर्शकमाझ उत्सुकता बढाएको छ ।
निर्देशकका अनुसार, फिल्मले “मितको सम्बन्धमा किन दरार आयो ? त्यो झगडाको अन्त्य कसरी हुन्छ ?” भन्ने प्रश्नको उत्तर दिनेछ ।
विगतमा पनि दयाहाङ राई र सौगात मल्ल बीचको टकराव देखिएका फिल्महरू ‘कबड्डी’ र ‘लुट’ सुपरहिट भएका थिए । त्यसैले ‘मितज्यू’मा पनि उनीहरूको भिडन्त दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिन्छ ।
जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा तेरिया मगर मुख्य अभिनेत्रीका रूपमा देखिनेछिन् । साथै, खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मका निर्माता जनक घर्ती मगर हुन् भने सम्पादन लोकेश बज्राचार्य ले गरेका छन् । सिनेमेटोग्राफी शिशिर बिशंखे को रहेको छ ।
ग्रामीण नेपाली परिवेश, गाउँको संस्कृति, मित्रता र सम्बन्धको भावनात्मक कथा बोकेको ‘मितज्यू’ले दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ ।