बहुप्रतिक्षित नेपाली फिल्म ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसन ले लिएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच मंगलबार औपचारिक कागजी सम्झौता भएको हो ।
फिल्मको वितरण सम्झौतामा कुवेर सिने डिस्ट्रिब्युसनका सञ्चालक आशिष एच तामाङ र प्रदीप धामी सहभागी थिए । हरि लम्साल को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
विशेष कुरा के छ भने, फिल्म कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज हुन लागेको हो । जसका कारण फिल्मको भावनात्मक पक्षलाई लिएर दर्शकमाझ उत्सुकता झन् बढेको छ ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका हरि लम्साल यस फिल्ममार्फत पहिलोपटक फिचर फिल्म निर्देशनमा आएका हुन् । उनी संगीतकार, गायक र रचनाकारका रूपमा पहिले नै चर्चित छन् । फिल्मको कथा र पटकथा पनि उनले स्वयं लेखेका हुन् ।
आर्टिस्टिक इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । उनले यसअघि विपीन कार्की अभिनित फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।
फिल्ममा झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
‘बाः एक योद्धा’ले नेपाली समाजमा परिवारका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने पीडाको कथा प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ । विशेषगरी सन्तानको भविष्यका लागि एक बुवाले गर्ने संघर्षलाई फिल्मले भावनात्मक ढंगले उजागर गर्ने बताइएको छ ।
फिल्ममा शिवराम श्रेष्ठ को छायांकन रहेको छ भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् ।