सल्यानमा २० वर्षीया सरिता वादीको रहस्यमय मृत्यु: हत्या गरेको आशंकामा श्रीमान शंकर वादी पक्राउ

0 Shares

सल्यानको बागचौर नगरपालिका–५ चिलडालेमा २० वर्षीया सरिता वादी को मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । हत्या आरोपमा उनका २४ वर्षीय श्रीमान शंकर वादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता देवराज भट्टराईका अनुसार वैशाख १५ गते बिहान सरिता आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझ खाना खाएर सुतेकी उनी बिहानसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सिमखोलीबाट प्रहरी सहायक निरीक्षक निरज खत्री को नेतृत्वमा टोली पुगेको थियो । उनीहरूका अनुसार सरिता कोठामा उत्तानो अवस्थामा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्ल नेतृत्वको टोलीसमेत परिचालन गरिएको थियो । घटनापछि प्रहरीले श्रीमान शंकर वादीसँगै उनका १८ वर्षीय भाइ सुनिल वादी लाई पनि नियन्त्रणमा लिएको थियो ।

पोस्टमार्टमपछि शव सरिताका दाजु प्रकाश वादी ले बुझेर लगेका थिए । पछि सुनिल वादीलाई आवश्यक परेमा उपस्थित हुने शर्तमा छोडिएको प्रहरीले जनाएको छ ।

माइती पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रूपमा अनुसन्धान अघि बढाएको छ । तर पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङगिङ’ उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार सरिताको घाँटीमा निलडाम समेत देखिएको छ । यता श्रीमान शंकर वादीलाई थारमारे प्रहरी हिरासतमा राखेर थप अनुसन्धान जारी छ ।

दम्पतीकी २ वर्षीया एक छोरी रहेको पनि खुलेको छ ।

सम्बन्धित समाचार

सबै