चन्द्रागिरीमा घरायसी विवादले लियो ज्यान: तरकारी काट्ने चक्कु प्रहारबाट युवकको हत्या, भिनाजु पक्राउ

0 Shares

काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा एक युवकको हत्या भएको छ । घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ ।

मृतकको पहिचान महोत्तरीको गौशाला नगरपालिका–५ का करिब २०–२५ वर्षीय जाकिर मन्सुरी का रूपमा खुलेको छ । उनको गएराति करिब ९:१५ बजे हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा उनकै भिनाजु नाता पर्ने महोत्तरी घर भई खरिबोट बस्दै आएका करिब ३८ वर्षीय समि अहमद पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरायसी विवादका क्रममा समि अहमदले जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्काल सतुंगलस्थित मेड पोइन्ट अस्पताल लगिएको थियो, जहाँ राति करिब साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा प्रयोग गरिएको चक्कुसहित आरोपी समि अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लास जाँच मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित समाचार

सबै