वैशाख २५ गते एकसाथ रिलिज भएका तीन नेपाली फिल्ममध्ये लालीबजार ले बक्सअफिसमा सबैलाई पछि पार्दै शानदार कमाइ गरेको छ।
चलचित्र विकास बोर्ड ले सार्वजनिक गरेको रिपोर्टअनुसार फिल्मले जेठ २ गतेसम्म ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। नौ दिनमै फिल्म हेर्ने दर्शक संख्या १ लाख १४ हजार ४६८ पुगेको छ।
बहिष्कारको चपेटामा परेको भए पनि सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण लालीबजार ले दोस्रो साताबाट झन् आक्रामक पिकअप लिएको देखिएको छ। पहिलो साताभन्दा दोस्रो साताको शनिबार र आइतबार शो र दर्शक दुवै बढेका छन्।

यता मालती मंगले ले ४४ लाख ७८ हजार ६०८ रुपैयाँ मात्रै ग्रस कमाएको छ। फिल्मका १३ हजार ८९० टिकट बिक्री भएका छन्।
त्यस्तै गुरु आमा ले २८ लाख ४४ हजार ४५१ रुपैयाँ ग्रस कमाउँदै ८ हजार ९७४ टिकट बिक्री गरेको छ।
यम थापा निर्देशित लालीबजार वादी समुदायका महिलाको संघर्षमा आधारित फिल्म हो। फिल्ममा स्वस्तिमा खड्का सहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदी को अभिनय छ।