उपासना-सोनमको ‘जलाकी’को छायांकन सकियो

0 Shares

अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमका अनुसार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा सिनेमाको इन्डक्ल्याप गरिएको हो ।

गत शनिबार पोखरामा गीतको दृश्य छायांकन गरिएको थियो, जहाँ सिनेमाका मुख्य कलाकारलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । छायांकन सकिएसँगै अहिले पोस्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोक थापा मगरले बताएका छन् । केही दिनभित्रै सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी समेत भइरहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जलाकी’मा उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रो सहकार्य गरेकी हुन् । ‘खुस्मा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी उपासना ‘जलाकी’लाई लिएर पनि उत्साहित देखिएकी छन् ।

सिनेमामा उपासनासँगै सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, भावना मगरक्याप्टेन विजय लामा लगायत कलाकारहरूको अभिनय रहेको छ । मिस सिक्किम साहारा हाङमा लिम्बुले यही सिनेमाबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् ।

‘जलाकी’ मगर समुदायको आस्था र सम्झनासँग जोडिएको सांस्कृतिक प्रतीक हो । मायाँ र सम्झनाको प्रतिकका रूपमा बनाइने ढुंगाको स्तम्भलाई ‘जलाकी’ भनिने गरिन्छ । यही सांस्कृतिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमाको छायांकन रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ र पोखराका विभिन्न क्षेत्रमा गरिएको निर्माण टिमले जनाएको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमाको डीओपी शैलेन्द्र डी कार्की हुन् भने एसडी योगी र सरित राईको संगीत रहेको छ ।

निर्देशक अशोक थापा मगरको डेब्यु निर्देशन रहेको ‘खुस्मा’को चर्चित गीत ‘रुकुम मैकोट’ले युट्युबमा पाँच महिनामै १० करोड भ्युज पार गर्दै ऐतिहासिक रेकर्ड बनाएको थियो । ‘खुस्मा’ बक्सअफिसमा सफल भएपछि निर्माण टिम ‘जलाकी’लाई लिएर पनि आशावादी देखिएको छ ।

सम्बन्धित समाचार

सबै