‘काजी’ मा प्रेमको गहिराइ देखिन्छ : केकी अधिकारी भन्छिन्– “कजिनीका लागि सम्बन्ध नै संसार हो”

0 Shares

नेपाली फिल्म क्षेत्रमा फरक र सशक्त भूमिकामार्फत आफ्नो पहिचान बनाएकी अभिनेत्री केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम, त्याग र सम्बन्धको गहिराइ बोकेको यस फिल्मप्रति उनी निकै उत्साहित देखिएकी छन्।

ग्रामीण परिवेशमा आधारित ‘काजी’ काजी र कजिनीको भावनात्मक प्रेमकथामा निर्माण गरिएको फिल्म हो। हालै काठमाडौंमा आयोजित कार्यक्रममा केकीले ‘काजी’लाई केवल प्रेमकथा नभई विश्वास, समर्पण र सम्बन्धको गहिरो संसारका रूपमा व्याख्या गरिन्।

उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण परिवर्तन भइसकेको भए पनि ‘काजी’को संसारमा भने माया र विश्वासले नै सम्बन्धलाई जोगाइराखेको छ।
“हामीलाई वास्तविक जीवनमा कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ। मानव मनोविज्ञान नै त्यस्तो हुन्छ। तर ‘काजी’को संसारमा त्यो सोचभन्दा बिल्कुल फरक भावनात्मक गहिराइ छ,” उनले भनिन्।

केकीका अनुसार फिल्मकी पात्र ‘कजिनी’ले आफूले पाएको प्रेमलाई असाधारण रूपमा अनुभव गर्छिन्।
“काजीले कजिनीलाई जति प्रेम गर्छ, त्यो प्रेम सात जुनीसम्म पनि फर्काउन सकिँदैन भन्ने अनुभूति उसलाई हुन्छ,” उनले बताइन्।

फिल्मको कथालाई स्पष्ट पार्ने क्रममा उनले रामायणको प्रसंग पनि जोडिन्।
“राम र सीताको कथामा सीताले रामका लागि धेरै त्याग गरेकी थिइन्। वनवास गइन्, अग्निपरीक्षा दिइन्। तर ‘काजी’को संसारमा कजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्छिन्,” केकीले भनिन्।
उनका अनुसार फिल्ममा देखाइएको प्रेम, त्याग र समर्पणले “प्रेमले नै संसार थामेको छ” भन्ने भाव दर्शाउँछ।

कजिनी पात्रबारे बोल्दै उनले अर्को रोचक पक्ष पनि खुलाइन्।
“कजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौँ जन्ममा काजीलाई पाउनु हो भन्ने भाव फिल्ममा छ,” उनले भनिन्।

केकीका अनुसार कजिनीका लागि संसारमा सबैभन्दा ठूलो कुरा सम्बन्ध हो। काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन्।
“कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो। संसारका अरू सबै कुरा साना लाग्छन्,” उनले भनिन्।

उनले काजीको प्रेम र विश्वासले नै आफूलाई पात्रमा पूर्ण रूपमा डुब्न मद्दत गरेको अनुभव पनि सुनाइन्।
“कजिनीको सबैभन्दा ठूलो आत्मविश्वास नै काजीको उसप्रतिको प्रेम र विश्वास हो। त्यो चिजले मानिसलाई कति धनी र आत्मविश्वासी बनाउँछ भन्ने कुरा फिल्मले देखाउँछ,” उनले बताइन्।

फिल्मको कथा सुरुदेखि नै आफूलाई भावनात्मक रूपमा जोडिएको उल्लेख गर्दै केकीले कजिनी पात्रभित्र पीडा, प्रेम र जिम्मेवारीको गहिरो तह रहेको बताइन्।

अभिनेता विपिन कार्कीसँगको सहकार्यलाई उनले सहज र स्मरणीय अनुभवका रूपमा लिएकी छन्। विपिनसँगको भावनात्मक केमेस्ट्री र पारिवारिक कथावस्तुले दर्शकलाई आकर्षित गर्ने उनको विश्वास छ।

करिब डेढ दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय केकीले सधैं फरक र सशक्त पात्र चयन गर्दै आएकी छन्। ‘बोक्सीको घर’ जस्ता महिला केन्द्रित फिल्ममार्फत चर्चा कमाएकी उनले समाजसँग जोडिएका विषयवस्तु र बलियो कथालाई प्राथमिकता दिने बताउँदै आएकी छन्।

फिल्म ‘काजी’ यही जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदैछ। निर्माण टिमका अनुसार फिल्मले ग्रामीण समाज, सम्बन्धको संवेदनशीलता र प्रेमको भावनात्मक पक्षलाई पर्दामा उतारेको छ। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्।

सम्बन्धित समाचार

सबै