‘शेप अफ मोमो’बाट सुरु हुँदै किम्फ २०२६, २९ देशका ५० भन्दा बढी फिल्म काठमाडौंमा प्रदर्शन हुने

0 Shares

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को २३औँ संस्करण आगामी मे २७ देखि ३१ गतेसम्म (जेठ १३ देखि १७ गतेसम्म) ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना हुने भएको छ ।

यस वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय रूपमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो फिल्म तथा साहसिक कथामा आधारित विभिन्न फिल्म समावेश गरिएका छन् ।

‘नेपाल पानोरमा’ खण्डअन्तर्गत समकालीन नेपाली समाज, स्थानीय जीवनशैली र सामाजिक यथार्थ झल्काउने फिल्म प्रदर्शन गरिने भएका छन् । महोत्सव निर्देशक राम्यता लिम्बुले यस वर्षको फिल्म छनोटले मनोरञ्जनसँगै नेपाली समाजका समसामयिक विषयमा बहस र संवाद सिर्जना गर्ने विश्वास व्यक्त गरेकी छन् ।

महोत्सवको उद्घाटन नेपाली मूलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित फिल्म ‘शेप अफ मोमो’ को नेपाल प्रिमियरबाट हुनेछ । फिल्मले शहरको जागिर छोडेर हिमाली गाउँ फर्किएकी विष्णु पात्रको जीवन, संघर्ष र पहिचानको कथा प्रस्तुत गरेको छ ।

नेपाल–स्विट्जरल्याण्ड कूटनीतिक सम्बन्धको ७०औँ वर्षको अवसरमा “अल्पाइन एलायन्स : नयाँ नेपाली सिनेमाको लहर” शीर्षकमा विशेष संवाद कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा स्वीस फिल्म ल्याब तथा विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी नेपाली फिल्मकर्मीहरूको सहभागिता रहनेछ ।

त्यसैगरी “ह्वाट्स इन अ स्टोरी : सिनेमा एन्ड सेन्सरशिप” शीर्षकमा फिल्म र सेन्सरसम्बन्धी प्यानल छलफल पनि आयोजना हुनेछ । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित ‘क्लाइम्बिङ फर लाइफ’ विशेष प्रदर्शन गरिनेछ । यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको तबेईको जीवनमा आधारित छ ।

किम्फ २०२६ को अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा, थाइल्याण्ड फिल्म अभिलेखालयकी निर्देशक चलिदा उअबुमरुङ्जित, नेपाली लेखक तथा कवि कुमार नगरकोटी तथा इटालीस्थित चेर्भिनो सिनेमाउन्टेन महोत्सवका निर्देशक लुका बिच रहेका छन् ।

जुरीले उत्कृष्ट फिचर फिक्सन, फिचर वृत्तचित्र, छोटो फिक्सन तथा छोटो वृत्तचित्र विधामा पुरस्कार प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय विधाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्र र उत्कृष्ट फिचर फिक्सनलाई जनही १५०० अमेरिकी डलर तथा उत्कृष्ट छोटो वृत्तचित्र र छोटो फिक्सनलाई जनही १००० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।

नेपाल पानोरमाअन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन फिल्मलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । किम्फ दर्शक पुरस्कारको राशि पनि एक लाख रुपैयाँ रहनेछ ।

यस वर्ष किम्फले काठमाडौं डकल्याबको दोस्रो संस्करण पनि आयोजना गर्दैछ । दक्षिण एसियाली प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पाकिस्तान–क्यानडाकी अनम अब्बास, भुटानका अरुण भट्टराई तथा भारतकी सर्भनिक कौरले नौ दक्षिण एसियाली परियोजनालाई मार्गदर्शन गर्नेछन् ।

फिल्म ल्याबसँगको सहकार्यमा छोटो फिक्सन ल्याब तथा स्क्रिप्ट पिचिङ फोरम पनि आयोजना गरिनेछ । युवा फिल्मकर्मीलाई प्रोत्साहन गर्न “आशा : ड्रीम्स इन मोसन” शीर्षकअन्तर्गत स्क्रिनिङ र प्यानल कार्यक्रम पनि हुनेछ । साथै युनिसेफ, युरोपियन युनियन, प्लान इन्टरनेशनल र युवाको सहकार्यमा “हर क्लाइमेट स्टोरी” शीर्षकमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

किम्फ फाउन्डेसनद्वारा आयोजना हुने यो महोत्सव टुरिनमा आधारित इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्मको सदस्य पनि हो । सर्वसाधारणका लागि टिकट शुल्क १५० रुपैयाँ तथा विद्यार्थीका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

सबै