रिस्ता गुरुङ ‘आ बाट आमा २’मा अनुबन्धित, कसको बन्दैछिन् जोडी? पल कि आकाश?

0 Shares

काठमाडौं । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म आ बाट आमा २का लागि ‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरुङ अनुबन्धित भएकी छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले उनलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।

अनुबन्धपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्ने अवसर पाउँदा आफू उत्साहित रहेको बताइन्। उनले कलाकारको जोडीभन्दा पनि सक्षम टिमसँग सहकार्यलाई प्राथमिकता दिने प्रतिक्रिया दिइन्।

निर्देशक पन्तले भने फिल्ममा रिस्ताको जोडी को रहने भन्ने विषय खुलाउन चाहेनन्। उनले यसलाई दर्शकका लागि ‘सरप्राइज’ रहने बताए।

फिल्ममा यसअघि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्टनरेन खड्का अनुबन्धित भइसकेका छन्।

आगामी असोज ३० गते, अर्थात् दसैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन्। यो गत वर्ष प्रदर्शनमा आएको आ बाट आमाको सिक्वेल हो। पहिलो भागले घरेलु बक्स अफिसमा झण्डै १४ करोड रुपैयाँ व्यापार गरेको निर्माण पक्षको दाबी छ।

निर्माण टिमका अनुसार फिल्म केही साताभित्र फ्लोरमा जानेछ। अमेरिका र क्यानडाको प्रदर्शन अधिकार वितरण कम्पनी डोको फिल्म्सले उच्च रकममा खरिद गरिसकेको बताइएको छ। नेपालभित्र वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआरसँग रहेको छ।

आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

May be an image of one or more people, people smiling and text that says '5 N AARYA ॐ'

सम्बन्धित समाचार

सबै