काठमाडौं – मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ ले आफ्नो फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। चलचित्र यसै वर्षको तिहारको अवसरमा प्रदर्शनमा आउने भएको छ।
सार्वजनिक गरिएको फर्स्ट लुक भिडियोले दर्शकमाझ चलचित्रप्रति उत्सुकता बढाएको छ। भिडियोमा अभिनेता विजय बराललाई ‘पुण्य चौलागाईँ’ नामक वडा अध्यक्षको फरक, रोचक र व्यङ्ग्यात्मक अवतारमा प्रस्तुत गरिएको छ। “जहाँ समस्या, त्यहाँ पुण्य चौलागाईँ” भन्ने पृष्ठभूमि संवाद र त्यसपछि आउने “यो गाउँमा बाहेक अरू को नै छ र मेरो आफ्नो” भन्ने संवादले उनलाई एक चलाख र प्रभावशाली स्थानीय जनप्रतिनिधिका रूपमा चित्रित गर्छ।
बाक्लो जुँगा, चस्मा, ढाका टोपी र सुटमा सजिएका विजय बरालको प्रस्तुति प्रतीकात्मक र व्यङ्ग्यपूर्ण देखिन्छ। भिडियोको एक दृश्यमा उनी ‘पुण्य चौलागाईँ, वडा अध्यक्ष’ लेखिएको नेमप्लेटअगाडि बसेर पैसा बुझिरहेको देखिन्छन्, जबकि पछाडिको भित्तामा ठूला अक्षरमा ‘भ्रष्टाचारलाई रोकौँ!’ लेखिएको बोर्ड टाँसिएको छ। यस दृश्यले नेपाली राजनीतिको यथार्थ र नेताहरूको दोहोरो चरित्रमाथि चलचित्रले डार्क कमेडीमार्फत तीखो व्यङ्ग्य गरेको सङ्केत दिन्छ।
त्यसैगरी, वडा अध्यक्ष पुण्य चौलागाईँ सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेर हिँडिरहेको तथा गाउँलेहरूले पहाडी बाटो हुँदै एउटा ठूलो काठको बाकस बोकेर लगिरहेको दृश्यले कथामा रहस्य र कौतूहल थपेको छ।
चलचित्रको कथा सडक पहुँच राम्रोसँग नपुगेको एक विकट गाउँमा केन्द्रित छ। आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शव सुरक्षित राख्नका लागि गाउँलेहरूले ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिनुपर्ने अवस्था सिर्जना हुन्छ। यही यात्राका क्रममा उत्पन्न हुने उथलपुथल, हास्यास्पद परिस्थिति र मानवीय संवेदनाले चलचित्रको कथावस्तु अघि बढ्छ। फर्स्ट लुकमा देखिएको काठको बाकसभित्र उक्त डीप फ्रिज रहेको अनुमान गर्न सकिन्छ।
चलचित्र ‘बेहुली फ्रम मेघौली’ का निर्देशक–लेखक जोडी सजन काफ्ले र आकास बरालले ‘जिरो डिग्री’ को संयुक्त निर्देशन तथा पटकथा लेखन गरेका हुन्।
चलचित्रको छायांकन कास्की जिल्लाका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायतका रमणीय स्थानहरूमा गरिएको छ। विजय बरालसँगै चलचित्रमा प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली लगायतका कलाकारहरूको अभिनय रहेको छ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन निशाल पौडेलले गरेका हुन्। चलचित्रको सम्पादन चानस पुन मगर, रङ्ग संयोजन राजेन्द्र मोक्तान तथा सङ्गीत अङ्कित बाबु अधिकारीको रहेको छ।
काठमाडौं उपत्यका बाहिर चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ भने उपत्यकाभित्र डि सिएनले वितरण गर्नेछ। निर्माण पक्षले तिहारको बिदामा ‘जिरो डिग्री’ ले दर्शकलाई मनोरञ्जनपूर्ण र फरक सिनेमाटिक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।