‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री, माउन्ट पुमोरी इभेन्ट्सले गर्‍यो खरिद

0 Shares

काठमाडौं । नेपालमा सफल व्यावसायिक प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारमा पनि दर्शकको उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको नेपाली फिल्म ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ।

निर्माण पक्षका अनुसार फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको हो। नेपालमा उत्कृष्ट समीक्षा र दर्शकको उल्लेखनीय साथ पाएको ‘मालती मंगले’ हाल अमेरिका, क्यानडा लगायतका विभिन्न मुलुकहरूमा प्रदर्शन भइरहेको छ।

विदेशमा रहेका नेपाली समुदायमाझ फिल्मप्रति बढ्दो चासोका कारण अस्ट्रेलियामा पनि यसको प्रदर्शनलाई लिएर उत्साह देखिएको निर्माण पक्षले जनाएको छ। अस्ट्रेलिया प्रदर्शनसँगै फिल्मको अन्तर्राष्ट्रिय यात्रा थप विस्तार हुने अपेक्षा गरिएको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘मालती मंगले’को निर्देशन प्रकु पाण्डेयले गरेका हुन्। फिल्मको कथा पनि पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा संयोग गुरागाईंले सहकार्य गरेका छन्।

फिल्ममा विजय, वर्षा र मेक्समको मुख्य भूमिका रहेको छ। साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह–निर्माताका रूपमा रहेका छन्।

प्राविधिक पक्षमा पनि फिल्मलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन तथा कृष्ण भण्डारीको रङ संयोजन रहेको फिल्ममा सुजिल कर्माचार्यको पाश्र्व संगीत र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ।

अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएसँगै ‘मालती मंगले’ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै