काठमाडौं । अभिनेता जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको ट्रेलरले गाउँबाट ठूलो सपना बोकेर शहर आएका एक युवाको कलाकार बन्ने संघर्ष, चुनौती र जीवन यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।
ट्रेलरमा अभिनेता जितु नेपाल फरक भूमिकामा देखिएका छन्। उनले कलाकार बन्ने सपना पछ्याइरहेका एक संघर्षशील युवाको चरित्र निर्वाह गरेका छन्। सपना पूरा गर्ने यात्रामा उनले सामना गर्नुपरेका कठिनाइ, असफलता र संघर्षलाई ट्रेलरले मार्मिक रूपमा चित्रण गरेको छ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा निर्माण भएको फिल्ममा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ। यसअघि सार्वजनिक गरिएको टिजरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, निरज नेपाल, अन्सु महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन्। राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्।
भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ।
‘आइ एम जीत बहादुर’को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।
तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्य अभिनयदेखि चरित्र भूमिकासम्म आफ्नो छुट्टै पहिचान स्थापित गरेका जितु नेपालका लागि यो फिल्म विशेष महत्वको परियोजनाका रूपमा हेरिएको छ।