काठमाडौँ । आगामी असोज ३० गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ। अभिनेत्री मलिका महतलाई मुख्य भूमिकामा अनुबन्ध गरेसँगै निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट फिल्मको सुटिङ थालेको हो।
निर्देशक चन्द्र पन्तका अनुसार फिल्मको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिनेछ। चित्लाङ र काठमाडौँको सेड्युल सम्पन्न भएपछि बाँकी दृश्य खिच्न निर्माण टिम लन्डन प्रस्थान गर्नेछ।
एक महिनाको कार्यतालिका तय गर्दै सुरु गरिएको फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्कालगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले लेखेका हुन्। गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण भइरहेको यो फिल्म पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेको जनाइएको छ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको मुख्य व्यवस्थापक करनसिंह रसाली हुन्। फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।
निर्माण टिमले आगामी दसैँको अवसर पारेर असोज ३० गतेदेखि फिल्म प्रदर्शन गर्ने तयारी गरेको छ।