अमेरिका–क्यानडापछि ‘आ बाट आमा २’ को जापान राइट्स बिक्री

0 Shares

काठमाडौँ । आगामी बडादसैँको अवसरमा प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा २’ को जापान प्रदर्शन अधिकार (डिष्ट्रिब्युसन राइट्स) बिक्री भएको छ। निर्माण पक्षका अनुसार फिल्मको जापान राइट्स आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरेको हो।

यसअघि फिल्मको अमेरिका र क्यानडा प्रदर्शन अधिकार डोको फिल्म्सले महँगो रकममा खरिद गरिसकेको थियो। अमेरिका, क्यानडा र जापानजस्ता प्रमुख अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अधिकार अग्रिम रूपमा बिक्री हुनु फिल्मप्रति विदेशी वितरक तथा दर्शकको बढ्दो चासोको संकेत मानिएको छ।

गत वर्ष प्रदर्शनमा आएको सफल फिल्म ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण भइरहेको ‘आ बाट आमा २’ को छायांकन सोमबारदेखि मकवानपुरको चित्लाङबाट सुरु भएको छ। निर्देशक चन्द्र पन्तका अनुसार चित्लाङका साथै विदेशका विभिन्न स्थानमा समेत फिल्मको छायांकन गरिनेछ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको कथा, पटकथा तथा निर्देशन चन्द्र पन्तले नै गरिरहेका छन्। करणसिंह रसाली फिल्मका प्रोडक्सन म्यानेजर हुन्।

निर्माण टिमले फिल्मलाई आगामी असोज ३० गते (अक्टोबर १६) नेपालसहित विश्वभर एकसाथ प्रदर्शन गर्ने तयारी गरेको छ। “दशैंको जमरा र आमाको पर्खाइको कथा” नारासहित निर्माण भइरहेको फिल्म पारिवारिक तथा भावनात्मक कथावस्तुमा आधारित रहेको जनाइएको छ।

फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्काको मुख्य भूमिका रहनेछ।

नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

सम्बन्धित समाचार

सबै