‘रोल नं १’ ले जित्यो सेलिब्रेटीको मन, प्रतिक्रिया– ‘यो फिल्म होइन, जीवन सिकाउने किताब हो’

0 Shares

काठमाडौं । गत शुक्रबारदेखि देशभर प्रदर्शन भइरहेको फिल्म ‘रोल नं १’ को राजधानीमा आयोजित विशेष प्रदर्शनी (स्पेशल स्क्रिनिङ) मा सहभागी कलाकार, हास्यकलाकार, फिल्मकर्मी तथा राजनीतिज्ञहरूले फिल्मको खुलेर प्रशंसा गरेका छन्। उनीहरूको साझा निष्कर्ष थियो—‘रोल नं १’ विद्यार्थीले मात्र होइन, अभिभावकले अनिवार्य रूपमा हेर्नुपर्ने फिल्म हो।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको विशेष प्रदर्शनी सोमबार काठमाडौंमा आयोजना गरिएको थियो। कार्यक्रममा निर्देशक तुल्सी घिमिरे, कलाकार जितु नेपाल, कमलमणि नेपाल, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, अञ्जना बराइली, नीता ढुंगाना, सञ्चिता लुइँटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिमा तुलाधार, सरिता गिरी, अभिनेता हरिहर अधिकारी, पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य सुनिलबहादुर थापा, एन–प्याब्सनका महासचिव आरबी कटुवाललगायतको उपस्थिति रहेको थियो।

फिल्म हेरेपछि कलाकार जितु नेपालले वर्तमान शिक्षा प्रणालीमाथि फिल्मले उठाएको प्रश्नलाई सान्दर्भिक बताए। उनले कक्षाकोठाको अंकले मात्र जीवनको सफलता निर्धारण नगर्ने सन्देश फिल्मले प्रभावकारी रूपमा दिएको प्रतिक्रिया दिए।

लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले ‘रोल नं १’ लाई चलचित्रभन्दा पनि पढ्नुपर्ने किताबको संज्ञा दिए। दुर्गम क्षेत्रको शिक्षा, अभिभावकको संघर्ष र बालबालिकाको भविष्यप्रतिको संवेदनशील कथाले आफूलाई गहिरो रूपमा छोएको उनले बताए।

कलाकार लुनिमा तुलाधारले फिल्मलाई हरेक अभिभावकले हेर्नुपर्ने सिनेमा भन्दै बालबालिकाको रुचि, क्षमता र चाहनालाई बुझ्न अभिभावकलाई प्रेरित गर्ने उल्लेख गरिन्।

अभिनेत्री सञ्चिता लुइँटेलले फिल्मले किताबी ज्ञानभन्दा सीप र व्यवहारिक शिक्षाको महत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताइन्। उनका अनुसार आजका अभिभावक र बालबालिकाले यो फिल्मबाट धेरै कुरा सिक्न सक्छन्।

अभिनेता हरिहर अधिकारीले फिल्मलाई ‘ब्युटिफुल’ भन्दै बाबु–छोराको सम्बन्ध, संघर्ष र विद्यालय जीवनका यथार्थ पक्षहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको बताए। अभिनेत्री नीता ढुंगानाले पनि फिल्म हेर्दा आफू निकै भावुक भएको उल्लेख गर्दै बालबालिकामाथि थोपरिने शैक्षिक दबाबलाई फिल्मले यथार्थपरक ढंगले चित्रण गरेको प्रतिक्रिया दिइन्।

विशेष प्रदर्शनीमा सहभागी अधिकांश व्यक्तित्वहरूको एउटै धारणा थियो—जीवनमा सफल हुन केवल किताबी ज्ञान पर्याप्त हुँदैन, सीप, रुचि र क्षमता पहिचान गर्नु नै वास्तविक शिक्षा हो। बालबालिकालाई निरन्तर दबाब दिनेभन्दा उनीहरूको रुचि बुझेर अघि बढ्न प्रेरित गर्ने सन्देश फिल्मले दिएको उनीहरूको भनाइ थियो।

फिल्मका मुख्य कलाकार मुकुन्द पोखरेल र रेणु नाथ योगीको अभिनयको समेत विशेष प्रशंसा गरिएको छ। विशेषगरी अभिभावकको अपेक्षा र आफ्नै सपनाबीच संघर्ष गरिरहेको बाल पात्रको प्रस्तुतिले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आएको छ।

निर्देशक जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवनराज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्मित फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सहनिर्माता रहेका छन्। महेश दवाडीको लेखन तथा शिवराम श्रेष्ठको छायांकन रहेको ‘रोल नं १’ हाल देशभरका विभिन्न हलमा प्रदर्शनरत छ।

सम्बन्धित समाचार

सबै