काठमाडौं । नेपाली फिल्म ‘मालती मंगले’को अन्तर्राष्ट्रिय प्रदर्शन अभियानलाई तीव्रता दिन निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्। विश्वभर प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रचारप्रसार तथा विशेष प्रदर्शनीमा सहभागी हुन ढकाल पहिलो चरणको भ्रमणमा अमेरिका उडेका हुन्।
निर्माता ढकालका अनुसार पहिलो चरणमा अमेरिका, क्यानडा र अस्ट्रेलियामा फिल्म प्रदर्शनसँगै दर्शक भेटघाट तथा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि फिल्म प्रदर्शन तथा प्रचार अभियानलाई निरन्तरता दिइने योजना रहेको छ।
निर्माण टिमले सार्वजनिक गरेको तालिकाअनुसार अमेरिकाको बोस्टनमा जुन ५ र न्यु ह्याम्पसायरमा जुन ६ तारिख फिल्म प्रदर्शनसँगै सांगीतिक कार्यक्रम आयोजना हुनेछ। त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सासमा कार्यक्रमहरू सञ्चालन गरिनेछन्। जुनको तेस्रो सातामा क्यानडाको टोरन्टोमा विशेष प्रदर्शन गरिने तय भएको छ।
त्यसैगरी, जुलाई ४ मा अस्ट्रेलियाको सिड्नीमा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर आयोजना गरिनेछ। सिड्नीपछि अस्ट्रेलियाका अन्य सहरहरूमा पनि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।
विश्वव्यापी प्रदर्शन अभियानअन्तर्गत हुने ‘मिट एन्ड ग्रिट’ कार्यक्रम तथा सांगीतिक प्रस्तुतिमा रामकृष्ण ढकालसँगै कार्यकारी निर्माता सागर ज्ञवाली र फिल्मका अन्य कलाकारहरूको समेत सहभागिता रहनेछ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका छन्।
फिल्ममा विजय, वर्षा र मेक्समका साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ। निर्माण पक्षले फिल्मको कथा, प्रस्तुति र प्राविधिक पक्षले दर्शकलाई विशेष अनुभव दिने विश्वास व्यक्त गरेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह–निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।