काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको महोत्सवमा फिल्म प्रदर्शन, संवाद सत्र तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू सञ्चालन भएका थिए।
यस संस्करणमा २९ देशका ५० भन्दा बढी फिल्महरू प्रदर्शन गरिएका थिए। साथै छलफल सत्र, प्रदर्शनी, स्टल र विभिन्न कथावाचन कार्यक्रममार्फत नेपाल तथा विश्वका विविध भौगोलिक र सांस्कृतिक कथाहरू प्रस्तुत गरिएका थिए।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डमा ‘द ओल्डेस्ट मुनरो ब्यागर’ उत्कृष्ट फिचर वृत्तचित्र घोषित हुँदै १,५०० अमेरिकी डलर नगद पुरस्कार जित्न सफल भयो। त्यस्तै ‘द एन्टी एक्सिपिडिसन’ उत्कृष्ट लघु वृत्तचित्र बन्दै १,००० अमेरिकी डलर पुरस्कारको विजेता बन्यो।
कथानक विधामा ‘द एलिसियन फिल्ड’ उत्कृष्ट फिचर फिक्सन घोषित हुँदै १,५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो भने ‘एली’ उत्कृष्ट लघु फिक्सन बनेर १,००० अमेरिकी डलर नगद पुरस्कार जित्यो।
यस वर्षको अन्तर्राष्ट्रिय निर्णायक मण्डलको नेतृत्व भारतीय फिल्ममेकर दीप्ती डी’कुन्हाले गरेकी थिइन्। अन्य सदस्यमा थाइल्यान्ड फिल्म अभिलेखालयकी निर्देशक चालिदा उआबुमरुङजित, लेखक तथा कवि कुमार नगरकोटी र इटलीस्थित सेर्भिनो सिनेमाउन्टेन महोत्सवका निर्देशक लुका बिच सहभागी थिए।
नेपाल पानोरमा खण्डअन्तर्गत ‘माइ मम इज बडी बिल्डर’ उत्कृष्ट वृत्तचित्र घोषित भयो भने ‘साँझका रङहरू’ उत्कृष्ट कथानक फिल्म बन्न सफल भयो। यी दुवै फिल्मले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
यस खण्डको मूल्याङ्कन लुसी दे बारोस (एलायन्स फ्रान्सेज काठमाडौं), फिल्मकर्मी नवीन चौहान र पत्रकार रीना मोक्तानले गरेका थिए।
दर्शक अवार्डतर्फ १ लाख रुपैयाँ राशिको पुरस्कार जापानी निर्देशक साकामोटो जुन्जीको फिल्म ‘क्लाइम्बिङ फर लाइफ’ ले जितेको छ। यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को तोबईको जीवनीमा आधारित रहेको छ।
यस वर्षको किम्फमा त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’ उद्घाटन फिल्मको रूपमा प्रदर्शन गरिएको थियो। महोत्सवमा चलचित्र र सेन्सरसिप, नेपाली फिल्म निर्माणको बदलिँदो अवस्था तथा पर्वतीय कथावाचन सम्बन्धी विभिन्न संवाद सत्रहरू विशेष आकर्षणका रूपमा रहेका थिए।