निर्देशक कृष्ण चापागाईंको हृदयाघातका कारण निधन

0 Shares

काठमाडौं । नेपाली फिल्मका निर्देशक, लेखक तथा निर्माता कृष्ण चापागाईंको निधन भएको छ। लामो समयदेखि परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका चापागाईंको हृदयाघातका कारण निधन भएको हो।

प्राप्त जानकारीअनुसार तीन दिनअघि हृदयाघात भएपछि उनलाई अमेरिकाको बोस्टनस्थित Cambridge Health Alliance Everett Hospital को आईसीयूमा भर्ना गरी उपचार गरिँदै आएको थियो। उपचारकै क्रममा बुधबार बिहान उनको निधन भएको अमेरिकामा रहेका नेपाली कलाकर्मीहरूले जनाएका छन्।

चापागाईंले नेपाली फिल्म क्षेत्रमा निर्देशक, लेखक र निर्माताका रूपमा महत्वपूर्ण योगदान दिएका थिए। उनले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’‘निखिल दाइ’ लगायतका फिल्मको लेखन, निर्माण तथा निर्देशन गरेका थिए।

फिल्म निर्माणको पूर्वाधार विकासमा समेत सक्रिय रहेका उनले काठमाडौंको जोरपाटीमा ‘चापागाईं सुटिङ स्टुडियो’ सञ्चालन गरेका थिए। उक्त स्टुडियोले नेपाली फिल्म निर्माणमा उल्लेखनीय सहयोग पुर्‍याएको मानिन्छ।

उनको निधनसँगै नेपाली फिल्म क्षेत्रले एक अनुभवी स्रष्टा गुमाएको छ। निर्देशक कृष्ण चापागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

निर्देशक कृष्ण चापागाईंको आत्माको चिरशान्तिको कामना।

सम्बन्धित समाचार

सबै