दशैंमा हाँसोको बहार ल्याउँदै ‘चमेलीको पोइ’, असोज १६ गते विश्वव्यापी प्रदर्शनमा

0 Shares

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति घोषणा गरिएको छ। एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको पारिवारिक कमेडी फिल्म आगामी असोज १६ गते, दशैंको अवसर पारेर विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको हो।

निर्माण चरणदेखि नै चर्चामा रहेको फिल्मले पहिलो झलक सार्वजनिक गरेसँगै दर्शकमाझ उत्सुकता बढाएको थियो। पारिवारिक सम्बन्ध, हास्य र मनोरञ्जनलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य र विन्दु आचार्यलगायत कलाकारको अभिनय रहेको छ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन्। कार्यकारी निर्मातामा उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन्। निर्देशक बोहराकै कथा रहेको फिल्मको लेखनमा शिवम अधिकारीले सहकार्य गरेका छन्।

झण्डै दुई दशकपछि चर्चित हास्य कलाकार नारायण त्रिपाठीले यही फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गर्दैछन्। उनले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको मुख्य सहायक निर्देशक सुदीप कुँवर हुन्। योगेन्द्र कार्की र मार्लभ ढुंगाना सहायक निर्देशक रहेका छन्।

आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

सम्बन्धित समाचार

सबै