काठमाडौं । निर्देशक कृषा चौलागाईँको तेस्रो निर्देशकीय फिल्म ‘पारस’ आगामी असार १५ गतेदेखि छायांकनमा जाने भएको छ। निर्माण टिमले बिहीबार कलाकारहरूको फेस टेस्ट सम्पन्न गर्दै फिल्म फ्लोरमा जाने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
बालाजुस्थित ल्याबमा आयोजित फेस टेस्टमा कलाकारहरूको पात्रअनुसारको लुक्स परीक्षण गरिएको थियो। एक्सन निर्देशकको पहिचान बनाएकी कृषा चौलागाईँले फिल्मको अधिकांश पूर्वतयारी पूरा भइसकेकाले निर्धारित मितिबाट छायांकन सुरु गर्न लागिएको जानकारी दिइन्।
उनका अनुसार फिल्मको छायांकन काठमाडौं उपत्यका आसपासका विभिन्न स्थानमा गरिनेछ। सोही तयारीस्वरूप कलाकारहरूको चरित्र सुहाउँदो प्रस्तुति र लुक्सलाई अन्तिम रूप दिइएको हो।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन्। अन्य कलाकारहरूको छनोट प्रक्रिया भने जारी रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले तयार गरेका हुन्। छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टोलीमा रहनेछन्।
यसअघि फिल्मको पहिलो गीत रेकर्ड भइसकेको छ, जसमा ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन्। गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ।
फिल्मको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहनेछन् भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन्। सत्यम राणा र समीर मियाँले भीएफएक्सको जिम्मेवारी सम्हाल्नेछन्। सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा रहनेछन् भने कुलदीप शर्मा मुख्य सहायक निर्देशक नियुक्त भएका छन्।
यस्तै, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन्। रेनिस फागो कलरिस्ट रहने फिल्मको पब्लिसिटी तथा पोस्टर डिजाइन राकेश दाहालले गर्नेछन्। कालाचरणले पृष्ठभूमि संगीत (बीजीएम) तयार गर्नेछन् भने गीता गुरायाले मिक्सिङको जिम्मेवारी सम्हाल्नेछिन्।