काठमाडौं । चलचित्र समीक्षा र चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने तालिम सम्पन्न भएको छ। आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५ देखि २७ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकार सहभागी भएका थिए।
चलचित्र पत्रकारितालाई थप व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने लक्ष्यसहित आयोजित तालिममा चलचित्र समीक्षा लेखनका सिद्धान्त, पत्रकारिताको वर्तमान अवस्था, समीक्षाका मापदण्ड, चलचित्रका कलात्मक तथा प्राविधिक पक्षको मूल्याङ्कन, दर्शक दृष्टिकोण तथा जिम्मेवार सञ्चार अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा वरिष्ठ प्रशिक्षक राजेश गङ्गाजु, अखण्ड भण्डारी र शान्ताराम बिडारीले सहजीकरण गरेका थिए। उनीहरूले समीक्षा लेखनलाई केवल व्यक्तिगत धारणा नभई अध्ययन, विश्लेषण र जिम्मेवारीसँग जोडिएको अभ्यासका रूपमा प्रस्तुत गरेका थिए।
समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म उद्योगको विकासमा चलचित्र पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले स्वस्थ समीक्षा, तथ्यपरक विश्लेषण र सन्तुलित पत्रकारिताले उद्योगलाई थप सशक्त र विश्वसनीय बनाउन सहयोग पुग्ने धारणा राखे।
अध्यक्ष डिसीले पत्रकारहरूलाई चलचित्रका सकारात्मक र आलोचनात्मक पक्षलाई समान जिम्मेवारीका साथ प्रस्तुत गर्न आग्रह गर्दै यस्ता तालिमले चलचित्र पत्रकारितामा नयाँ ऊर्जा र व्यावसायिकता थप्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आवश्यक सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
आयोजक आइडिया ग्रोभका प्रतिनिधिहरूका अनुसार तालिमले सहभागी पत्रकारहरूलाई चलचित्र समीक्षा तथा पत्रकारिताको व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको छ। अन्तरक्रिया, अनुभव आदानप्रदान र अभ्यासमूलक सत्रसहित सम्पन्न तालिमलाई सहभागीहरूले उपयोगी र प्रभावकारी अनुभवका रूपमा लिएका छन्।