काठमाडौं । निर्देशक तथा लेखक माओत्से गुरुङको बहुप्रतीक्षित नेपाली फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउन सफल भएको छ। नेपाली फिल्मको विश्वव्यापी पहुँच विस्तार भइरहेका बेला फिल्मले लगातार विदेशी वितरकहरूको आकर्षण बटुल्दै प्रदर्शनअघिको बजारलाई उत्साहजनक बनाएको छ।
निर्माण टिमका अनुसार फिल्मको औपचारिक प्रदर्शन मिति घोषणा हुनुअघि नै बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भइसकेका छन्। बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङका लागि मेन ड्रागन लिमिटेडले वितरण अधिकार खरिद गरेका हुन्।
यसैक्रममा फिल्मको अष्ट्रेलिया तथा न्युजिल्यान्ड प्रदर्शन अधिकार पनि बिक्री भएको छ। दि ब्याक इभेन्ट्सले यी दुई मुलुकका लागि प्रदर्शन अधिकार प्राप्त गरेको निर्माण पक्षले जनाएको छ। यससँगै ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले नेपाली समाज, पारिवारिक सम्बन्ध, संघर्ष र मानवीय संवेदनाका विषयलाई केन्द्रमा राखेको छ। यसअघि माओत्से गुरुङद्वारा निर्देशित तथा निर्माण गरिएका ‘पुरानो डुङ्गा’ र ‘दयारानी’ले स्वदेशसँगै विदेशी बजारमा समेत उल्लेखनीय चर्चा बटुलेका थिए। यही कारण ‘पेन्सन पट्टा’प्रति विदेशी वितरक र नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्माण टिमको विश्वास छ।
फिल्मले मानिसको जीवनमा आशा, सपना र त्यसका लागि गर्नुपर्ने संघर्षलाई मानवीय दृष्टिकोणबाट प्रस्तुत गर्ने बताइएको छ।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई र लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको निर्देशन तथा कथा माओत्से गुरुङको रहेको छ भने छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ तथा कला निर्देशन राजु याक्चाले गरेका छन्।
डि.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा हर्क साउद, शिव बराइली र सूरज तमुका गीत समावेश छन्। संगीत मनोज थापा मगर, शिव बराइली र सूरज तमुले तयार गरेका हुन्।
बेलायत, हङकङ, अष्ट्रेलिया र न्युजिल्यान्डपछि अन्य मुलुकका वितरकहरूसँग पनि प्रदर्शन अधिकारबारे छलफल जारी रहेको निर्माण पक्षले जनाएको छ। विदेशी बजारमा देखिएको उत्साहले आगामी दिनमा फिल्मको अन्तर्राष्ट्रिय पहुँच अझ विस्तार हुने अपेक्षा गरिएको छ।