‘गंगा रानी’बाट रोशन केसीको फिल्म डेब्यु, वर्षा सिवाकोटीसँग पहिलोपटक पर्दामा जोडी

0 Shares

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी फिल्म ‘गंगा रानी’ मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन्। करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै उनले आफ्नो पहिलो फिल्ममै मुख्य भूमिका सुरक्षित गरेका हुन्।

यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। ‘गंगा रानी’मार्फत रोशन केसी र वर्षा सिवाकोटीको जोडी पहिलोपटक ठूलो पर्दामा देखिने भएको छ।

केही म्युजिक भिडियोमा अभिनय गरिसकेका रोशन आफ्नो डेब्यु फिल्मलाई लिएर उत्साहित छन्। बलियो कथा, अनुभवी निर्देशक र सक्षम निर्माण टिमसँग काम गर्ने अवसर पाएकाले फिल्ममार्फत आफ्नो अभिनय यात्रा सुरु गर्न पाउँदा खुसी लागेको उनले बताएका छन्।

निर्माण टिमले वर्षा सिवाकोटीलाई अनुबन्धित गरेपछि ४ अभिनेता र ४ अभिनेत्रीका लागि खुला अडिसन आह्वान गरेको थियो। सोही अडिसन प्रक्रियाबाट रोशन मुख्य अभिनेताको रूपमा छनोट भएका हुन्।

निर्देशक राजबहादुर सानेका अनुसार अडिसनमा सहभागी कलाकारहरूको फोटो तथा भिडियो मूल्यांकनका आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘अडिसनमा सहभागी भएका प्रतिभामध्ये पात्रसँग सुहाउँदा कलाकार छनोट गरिरहेका छौं। बाँकी कलाकारको नाम पनि चाँडै सार्वजनिक हुनेछ,’ सानेले बताए।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन्। फिल्मको कथा तथा निर्देशन स्वयं सानेले गरेका छन्। निर्माण टिमले आगामी भदौको दोस्रो सातादेखि छायांकन सुरु गर्ने तयारी गरेको छ।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’लगायत चर्चित फिल्म निर्देशन गरिसकेका छन्।

यसैबीच, आहा फिल्मस्को ब्यानरमा निर्माण भएको तथा सानेकै निर्देशन रहेको नयाँ फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै