‘बाः एक योद्धा’को रहस्यमय ‘बा’ को हुन् ? रिलिज नजिकिँदा बढ्यो दर्शकको उत्सुकता

0 Shares

काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बाः एक योद्धा’ ले आफ्नो मुख्य पात्र ‘बा’लाई अझै सार्वजनिक नगर्दा दर्शकमाझ कौतुहलता बढ्दै गएको छ। बुवाको त्याग, संघर्ष र सन्तानका लागि जीवनभर गरिने समर्पणको कथामा आधारित फिल्मले प्रचार अभियानलाई रहस्यमय ढंगले अघि बढाइरहेको छ।

फिल्मको कथावस्तु नेपाली समाजका ती बुवाहरूको जीवनसँग जोडिएको छ, जसले आफ्ना सन्तानको भविष्य निर्माणका लागि अनेक चुनौती र संघर्षको सामना गर्छन्। यही कारण फिल्मको केन्द्रमा रहेको ‘बा’ पात्रलाई लिएर दर्शक र फिल्म वृत्तमा चासो बढेको छ।

निर्माण टिमले हालसम्म फिल्मका केही कलाकारको नाम सार्वजनिक गरिसकेको छ। केही दिनअघि सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापालाई सार्वजनिक गरिएको थियो। यसअघि झरना थापा, सुहाना थापा र दिव्यदेव पन्तको नाम पनि घोषणा भइसकेको छ।

फिल्मको छायांकन सम्पन्न भइसकेको छ भने पोस्ट-प्रोडक्सनको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। तर, कथाको मुख्य आधार मानिएको ‘बा’ पात्रमा को कलाकार छन् भन्ने विषयलाई निर्माण पक्षले अझै गोप्य राखेको छ।

निर्देशक हरि लम्सालले फिल्मसँग सम्बन्धित थप जानकारी क्रमशः सार्वजनिक गरिने बताए। “हामी विस्तारै फिल्मका विभिन्न पक्षबारे जानकारी दिँदै जानेछौँ। मुख्य पात्र ‘बा’ को हुन् भन्ने विषय पनि उपयुक्त समयमा सार्वजनिक गर्नेछौँ,” उनले भने।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउँदैछ। फिल्मको विषयवस्तु र प्रदर्शन मितिबीच सन्दर्भ मिलाउने उद्देश्यले रिलिज डेट तय गरिएको निर्माण पक्षले जनाएको छ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित तथा कालजयी गीत सिर्जना गरेका हरि लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्साल स्वयंले लेखेका हुन्।

फिल्मका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जकसमेत रहेका उनले यसअघि अभिनेता विपीन कार्की अभिनीत फिल्म ‘कर्मा’ निर्माण गरेका थिए।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। ‘बाः एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै