काठमाडौं । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको नेपाली फिल्म ‘अक्षरा’ को छायांकन निर्धारित कार्यतालिकाअनुसार ३७ दिनमै सम्पन्न भएको छ। निर्माण टिमले कलाकार तथा प्राविधिकहरूको समर्पण र मेहनतका कारण तोकिएकै समयमा सम्पूर्ण सुटिङ पूरा गर्न सफल भएको जनाएको छ।
निर्देशक पौडेलले फिल्मको छायांकन सफलतापूर्वक सम्पन्न हुनुमा सम्पूर्ण टिमको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै कलाकार, प्राविधिक तथा निर्माण टोलीप्रति आभार व्यक्त गरेका छन्।
छायांकन समापनअघि निर्माण पक्षले तीज पर्वलाई लक्षित गर्दै तयार गरिएको ‘नाँचौं न बरी लै’ बोलको गीतको दृश्यांकन गरेको थियो। गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत तथा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना पनि फिल्ममा देखिनेछन्।
फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र विनयराज पौडेलले तयार गरेका छन्।
दिपेन बस्न्यातको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा तथा सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ। मुख्य सहायक निर्देशक दिवस विक्रम बोहोरा रहेका छन् भने मनोज बोहोरा र सौरभ शाह सहायक निर्देशकका रूपमा आबद्ध छन्।
दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकका रूपमा अनुभव बटुलेका विनयराज पौडेलले ‘अक्षरा’ मार्फत स्वतन्त्र निर्देशकको रूपमा आफ्नो यात्रा सुरु गरेका हुन्।
राकेश दाहालले पोस्टर डिजाइन गरेको फिल्म आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउनेछ। फिल्मको वितरण अधिकार नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले सम्हाल्नेछन्।