काठमाडौं। दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी तथा टेलिफिल्म ‘सीता’ मार्फत अभिनय यात्रा सुरु गरेकी कलाकार समिया कार्की नयाँ फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छन्। फिल्म रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ।
टेलिफिल्म ‘सीता’ मा सीताको नन्दको भूमिकामा देखिएकी समियाको यो डेब्यु फिल्म हो। पहिलो फिल्ममै मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित छिन्। नयाँ टिम र अनुभवी कलाकारसँग काम गर्ने अवसर पाउनु आफ्नो लागि खुसीको विषय भएको उनले बताइन्।
फिल्ममा चर्चित गायक पशुपति शर्मा तथा गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछिन्। पशुपति शर्मा र परितोषिका पन्त दुवैका लागि यो डेब्यु फिल्म हुनेछ।
निर्देशक अमरदीप सापकोटाका अनुसार कमेडी जनरामा निर्माण हुन लागेको फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ। उनले हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनमार्फत फिल्म प्रस्तुत गरिने बताए।