काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले बुधबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो।
यसअघि फिल्म साउन १ गते प्रदर्शन गर्ने तयारी गरिएको थियो। तर, वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति असोज २ मा सारिएको निर्माण टिमले जनाएको छ।
सार्वजनिक पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी)लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको उनीहरूको प्रेमिल भावले फिल्ममा प्रेमकथाको झल्को दिने संकेत गरेको छ। यद्यपि, फिल्मको मुख्य कथावस्तुबारे थप जानकारी टिजर, ट्रेलर वा प्रदर्शनपछि मात्रै खुल्ने निर्माण पक्षको भनाइ छ।
‘कार्की साइँला’ नामबाटै अनुमान गर्न सकिने भरिया पात्रको जीवन र संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मको छायांकन पूर्वी नेपालका धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरालगायतका रमणीय स्थानमा गरिएको छ।
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटाको अभिनय रहेको छ।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। अनन्त राई कार्यकारी निर्माता हुन्।
सबिन अधिकारी र शङ्कर धितालले लेखेको फिल्ममा रोजल थापा मुख्य सहायक निर्देशक रहेका छन्। डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बुको संगीत तथा सिबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहेको छ।
फिल्मको काठमाडौं उपत्यकाभित्रको वितरण काफिया फिल्म्समार्फत गोविन्द शाहीले गर्नेछन् भने उपत्यकाबाहिर कुबेर फिल्म्सले बजार व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ।