काठमाडौं — पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा गायक सुजन चापागाईंसँग सम्बन्धित भनिएका वयस्क प्रकृतिका निजी संवादहरू भाइरल भइरहेका बेला उनले यस विषयमा पहिलो पटक सार्वजनिक स्पष्टीकरण दिएका छन्।
हाल आफ्नो ब्याण्ड ‘सुजन चापागाईं एन्ड द इन्फिनिटी’को सांगीतिक यात्राका क्रममा अष्ट्रेलियामा रहेका चापागाईंले सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै विगतमा आफू निकट रहेकाहरूसँग निजी रूपमा सन्देश आदानप्रदान गरेको स्वीकार गरेका छन्। तर, सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्रीप्रति आफू अनभिज्ञ रहेको उनले बताएका छन्।
उनका अनुसार आफ्नो सामाजिक सञ्जाल विभिन्न समयमा सामाजिक सञ्जाल व्यवस्थापकहरूले सञ्चालन गर्दै आएका थिए। सोही अवधिमा कुनै दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान पनि उनले व्यक्त गरेका छन्।
साथै, आफ्नो नाममा धेरै नक्कली (फेक) अकाउन्टहरू सञ्चालन भइरहेको जानकारीसमेत आएको उल्लेख गर्दै उनले यस विषयमा आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको र अष्ट्रेलिया भ्रमण सकेपछि नेपाल फर्केर कानुनी उपचारमा जाने बताएका छन्।
चापागाईंले घटनाबाट आहत भएका दर्शक, परिवार, आफन्त र शुभचिन्तकसँग क्षमायाचना गर्दै आगामी दिनमा सामाजिक सञ्जालको प्रयोगप्रति अझ जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुजन चापागाईंको प्रेस विज्ञप्ति (जस्ताको तस्तै)
प्रिय दर्शक श्रोताहरू नमस्कार ।
हाल म अनि मेरो ब्याण्ड ‘सुजन चापागाईं एन्ड द इन्फिनिटी’ Musical Tour का क्रममा Australia मा रहेको जानकारी गराउन चाहन्छु । केही दिन यता सोसियल मिडियामा मसँग सम्बन्धित प्राइभेट मेसेनका सन्दर्भमा आएका तथ्यहरूको बारेमा म अत्यन्त चिन्तित एवं दुःखी भएको छु ।
विगतमा मसँग निकट सम्बन्धमा रहेका अनि मैले नजिक ठानेका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य हो । जसबाट उत्पन्न भएको दुःखद परिस्थितिको निम्ति म अन्तरहृदयदेखि नै माफी माग्न चाहन्छु । तर जे जति सामग्रीहरू सोसियल मिडियामा आएका छन् ती सबैका सबैप्रति चाहिँ म अनभिज्ञ छु ।
मेरो सोसियल मिडिया मैले मात्र ह्याण्डल गर्न सम्भव नभएको हुँदा विभिन्न कालखण्डमा सोसियल मिडिया म्यानेजरहरूले म्यानेज गर्ने गरेको र सोही समयमा केही कते दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ । साथै मेरो नामका धेरै फेक अकाउन्टहरू सक्रिय रहेको जानकारीमा आएको छ । यी अनैतिक एवं अनुचितद्वादिक हर्कतका विरुद्ध आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको छु, मेरो अष्ट्रेलिया सांगीतिक यात्रा सकिएलगत्तै नेपाल गएर कानुनी उपचारमा जानेछु ।
मलाई विश्वास अनि माया गर्नुहुने मेरा दर्शकश्रोता, परिवार, आफन्त, साथीभाइहरूप्रति म यो बाचा गर्दछु कि आगामी दिनमा यी तमाम विषयहरू प्रति गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्नेछु । सामाजिक सञ्जाल प्रयोग सम्बन्धी साक्षरतालाई थप बलियो बनाउनेछु । हजुरहरूले गर्नु भएको विश्वासलाई गुम्न दिने छैन । यो मेरो जीवनकै कठिन घडिमा हजुरहरूको साथको अपेक्षा गर्दछु ।
अन्त्यमा,
मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नु परेको समस्याको निम्ति माफी चाहन्छु ।