काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको आगामी फिल्म **‘चमेलीको पोइ’**को दोस्रो पोस्टर सार्वजनिक भएको छ। आगामी असोज १६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको नयाँ पोस्टरमा हास्य कलाकार नारायण त्रिपाठीलाई फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ।
‘प्रेम चरो’ उपनामले परिचित त्रिपाठी लामो समयपछि यही फिल्ममार्फत नेपाली फिल्ममा पुनरागमन गर्दैछन्। डेढ दशकअघि फिल्म अभिनयमा व्यस्त रहेका उनी अमेरिका बसाइँपछि अभिनयबाट टाढिएका थिए। सार्वजनिक पोस्टरमा उनी अर्धनग्न अवस्थामा, शरीरभरि कुटपिटका चोटका निशान, च्यातिएका कपडा र भागिरहेको भावभंगिमासहित देखिएका छन्। पोस्टरले फिल्ममा उनको पात्रप्रति दर्शकको जिज्ञासा थप बढाएको छ।
यसअघि सार्वजनिक भएको पहिलो पोस्टरले नै दर्शकको ध्यान तानेको फिल्मको दोस्रो पोस्टरमा त्रिपाठीसँगै सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रामनारायण उपाध्याय, सुदीप कुँवर र उमेश राईलाई पनि स्थान दिइएको छ।
फिल्ममा प्रेमदेव गिरी, रबिन्द्र झा, अंशु महर्जन, खडकबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाह र रितु मल्ल ठकुरीलगायत कलाकारहरूको अभिनय रहेको छ।
सार्वजनिक प्रदर्शनअघि आगामी अगस्ट ९ मा अमेरिकाको टेक्सासमा फिल्मको विशेष प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ। फिल्मको कथा निर्देशक एभरेष्ट सूर्य बोहरा स्वयंले लेखेका हुन् भने पटकथा तथा संवादमा शिवम अधिकारीले सहकार्य गरेका छन्।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन्। उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोड्युसर हुन्।
सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, यमप्रसाद ओली र प्रदीपकुमार सापकोटा सहनिर्माता रहेको फिल्मको छायांकन मुस्ताङ, पोखरा र काठमाडौंमा गरिएको हो। फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ।
