काठमाडौं । नेप्लिज फेसन होमद्वारा आयोजित १९औँ मिस नेवा नेपाल ११४६ का २१ जना प्रतियोगीहरूको उज्ज्वल भविष्य, सफल जीवनयात्रा तथा विश्व शान्ति, समृद्धि र सद्भावको कामनासहित काठमाडौंस्थित कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन गरिएको छ।
आयोजकका अनुसार प्रतियोगीहरूको व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण मानव समुदायमा सकारात्मक ऊर्जा, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले श्रद्धापूर्वक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।
आध्यात्मिक आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्पन्न कार्यक्रममा मिस नेवा नेपाल ११४६ का २१ प्रतियोगी, उनीहरूका अभिभावक, पूर्व मिस नेवा नेपाल प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवा सोशल वेल्फेयर एम्बासडर तिमिला महर्जन, संस्थाकी सल्लाहकार डा. बिमला शाक्य तथा ‘फाइट फर लाइफ नेपाल’का सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले प्रत्येक प्रतियोगीको सपना साकार होस्, उनीहरूको आगामी यात्रा आत्मविश्वास, अनुशासन र सेवाभावले प्रेरित बनोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। साथै विश्वभर शान्ति, सहअस्तित्व, सद्भाव र मानवीय मूल्यहरूको प्रवर्द्धनका लागि सामूहिक प्रार्थनासमेत गरिएको थियो।
नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार मिस नेवा नेपाल सौन्दर्य प्रतियोगितामा मात्र सीमित नभई नेवा समुदायको भाषा, संस्कृति, परम्परा, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्रवर्द्धन गर्ने अभियानका रूपमा स्थापित हुँदै आएको छ।
उनका अनुसार कुमारी मन्दिरमा गरिएको १ लाख बत्ती प्रज्वलन कार्यक्रमले प्रतियोगिताले बोकेको सामाजिक, सांस्कृतिक र आध्यात्मिक सन्देशलाई अझ प्रभावकारी रूपमा उजागर गरेको छ।