चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव सम्पन्न, ‘सिनेपा’ एप सार्वजनिकदेखि ३१ सर्वाधिक कमाउने फिल्मको सूचीसम्म
काठमाडौं। चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव विविध कार्यक्रम, सम्मान, पुस्तक विमोचन र नयाँ डिजिटल पहलको घोषणा गर्दै भव्य रूपमा सम्पन्न गरेको छ। असार १६ गते काठमाडौंस्थित बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथि तथा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डी.सी.ले गर्नुभएको थियो।
बोर्डका सदस्य–सचिव राजेश कुमार थापाले स्वागत मन्तव्य राख्दै चलचित्र क्षेत्रको संस्थागत विकास, अभिलेखीकरण, प्रविधिमैत्री सेवा, सिर्जनात्मक परियोजनाको प्रवर्द्धन र चलचित्रकर्मीको सम्मानलाई बोर्डले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. तिमिल्सिनाले चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै चलचित्र क्षेत्रको विकासका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले चलचित्र विकास बोर्डलाई उद्योगको अभिभावकीय संस्थाका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै निर्माणाधीन चलचित्रसम्बन्धी कानुन तथा नीतिमा चलचित्रकर्मीका सुझाव समेटिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्मसँग जोड्ने उद्देश्यले विकसित ‘सिनेपा’ एपको पूर्ण संस्करण सार्वजनिक गरिएको थियो। उक्त एपको उद्घाटन मन्त्री डा. तिमिल्सिनाले गर्नुभएको हो।
यसै अवसरमा बोर्डले आफ्ना वार्षिक गतिविधि समेटिएको ‘शब्दचित्रमा चलचित्र बोर्डको गतिविधि’ तथा ‘सिनेपा’ पुस्तक पनि विमोचन गरेको छ। बोर्डका अनुसार यी प्रकाशनले नेपाली फिल्मको अभिलेखीकरण, संस्थागत स्मृति संरक्षण तथा अध्ययन–अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउनेछन्।
वार्षिकोत्सवका अवसरमा बोर्डका दुई कर्मचारीलाई सम्मान गरिएको थियो भने स्टोरी बोर्डबाट छनोट भएको फिल्म ‘सुरिलो रुख’ लाई निर्माण सहयोगस्वरूप ४ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। नयाँ पुस्ताका सिर्जनात्मक परियोजनालाई प्रोत्साहन गर्ने नीति अन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिइने बोर्डले जनाएको छ।
बोर्डले आफ्नो स्थापना यता २६ वर्षको अवधिमा घरेलु बक्स अफिसमा ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली फिल्मको सूची पनि सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पन्जा’ श्रृंखला, ‘महाजात्रा’, ‘प्रेमगीत ३’, ‘पुजार सार्की’, ‘महापुरुष’ लगायतका सफल फिल्म समावेश छन्। बोर्डका अनुसार यो सूचीले नेपाली फिल्म उद्योगको व्यावसायिक विकास र बक्स अफिस इतिहासलाई अभिलेखीकरण गर्न सहयोग पुग्नेछ।
कार्यक्रममा राष्ट्रिय फिल्म पुरस्कार निर्णायक समितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुका साथै राष्ट्रिय फिल्म पुरस्कार २०८२ अन्तर्गत छुटेका केही सम्मानसमेत प्रदान गरिएको थियो।
वार्षिकोत्सवमा २५ वर्षभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका चलचित्रकर्मीलाई विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेमा निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य र मेकअप आर्टिस्ट निलम पौडेल रहेका छन्।
यसैगरी, लघु फिल्म तथा वृत्तचित्र प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो। वैकल्पिक कथा, भाषिक विविधता र मौलिक विषयवस्तुमा आधारित सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिने बोर्डले जनाएको छ।
समारोहमा विशिष्ट, विशेष तथा चलचित्रकर्मी श्रेणीका परिचयपत्र पनि वितरण गरिएको थियो।
विशिष्ट श्रेणीमा ऋषि लामिछाने, गोविन्द राई, बाबु साहेब बलामी, विनोदकुमार भट्टराई र विनोदप्रसाद मानन्धर सम्मानित भए।
विशेष श्रेणीमा उपासना सिंह, रेखा शर्मा, खगेन्द्र प्रसाद लामिछाने, दयाहाङ राई, दीपेन्द्र के. खनाल, प्रदीप भट्टराई, पुष्प खड्का, विजय बराल, बेनिशा हमाल, रोजिना सिटौला, विपिन कार्की, सुरक्षा पन्तलगायत चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको थियो। कलाकार, लेखक, निर्देशक, प्राविधिक तथा वितरक क्षेत्रका अन्य व्यक्तित्वलाई पनि चलचित्रकर्मी श्रेणीअन्तर्गत परिचयपत्र वितरण गरिएको थियो।
समारोहमा मन्त्रालयका उच्च अधिकारी, बोर्डका पदाधिकारी, केन्द्रीय फिल्म जाँच समितिका प्रतिनिधि, फिल्मसम्बद्ध १४ वटा संघ–संस्थाका प्रतिनिधि, कलाकार, निर्माता, निर्देशक, पत्रकार तथा चलचित्रकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसअघि वार्षिकोत्सवको पूर्वसन्ध्यामा बोर्डले मृगस्थलीमा वृक्षारोपण तथा बोर्ड परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र मानवीय सेवाप्रति बोर्डको प्रतिबद्धता पनि यसबाट झल्किएको आयोजकको भनाइ छ।
बोर्ड अध्यक्ष दिनेश डी.सी.ले आगामी दिनमा डिजिटल रूपान्तरण, नेपाली फिल्मको अभिलेखीकरण, चलचित्रकर्मीको सम्मान, बक्स अफिस तथ्यांक व्यवस्थापन तथा सिर्जनात्मक परियोजनाको प्रवर्द्धनलाई बोर्डको प्राथमिकतामा राखिने बताउनुभयो।
२६औँ वार्षिकोत्सवले नेपाली फिल्म उद्योगका अग्रज, समकालीन र नयाँ पुस्ताका स्रष्टालाई एउटै मञ्चमा सम्मान गर्नुका साथै प्रविधिमैत्री र संस्थागत रूपान्तरणतर्फ बोर्ड अघि बढिरहेको स्पष्ट सन्देश दिएको छ।