काठमाडौं । करिब १०० वर्षअघिको नेपाली समाज, त्यसबेलाको जीवनशैली, सामाजिक संरचना र जातीय विभेदको यथार्थलाई प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको नयाँ टेलिसिरिज ‘यो कथा होइन’ को औपचारिक घोषणा गर्दै पहिलो प्रोमो सार्वजनिक गरिएको छ।
गत मंगलबार अनामनगरस्थित डालो रेस्टुरेन्टमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा आयोजित विशेष समारोहबीच सिरिजको घोषणा तथा प्रोमो सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाली कला तथा मनोरञ्जन क्षेत्रका अग्रज कलाकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहका प्रमुख अतिथि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाको योगदानको प्रशंसा गर्दै उनले निर्माण गर्ने सामग्रीप्रति आफू सधैं आशावादी रहने बताए।
“नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापा लोकप्रिय कलाकार हुन्। उहाँले गर्ने काम सधैं उत्कृष्ट हुन्छ। ‘लाहुरेको करिम बोल’ गीतमार्फत पनि धेरै दर्शकले उहाँलाई चिन्छन्। ‘यो कथा होइन’ शीर्षकले नै वास्तविक जीवनसँग जोडिएको विषयवस्तु प्रस्तुत गर्ने संकेत गर्छ। पहिलो भाग हेर्न म निकै उत्साहित छु। सम्पूर्ण निर्माण टिमलाई शुभकामना,” उनले भने।
सिरिजका प्रमुख कलाकार रवि गिरीले आफू पनि सिरिजको महत्वपूर्ण पात्र रहेको उल्लेख गर्दै यसलाई फरक स्वाद र प्रस्तुतिका साथ निर्माण गरिएको बताए।
“हामीले निकै मेहनत गरेका छौं। अहिले प्रसारण भइरहेका सिरिजभन्दा फरक शैलीमा दर्शकमाझ प्रस्तुत हुने प्रयास गरेका छौं। दर्शकले यसलाई मन पराउनुहुनेछ भन्ने विश्वास छ,” उनले भने।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले आफ्नो संस्थाको आयोजनामा यस्तो सिर्जनात्मक कार्यक्रम गर्न पाउँदा गर्व लागेको बताए।
“श्रीप्रसाद थापा र रवि गिरीजस्ता अनुभवी कलाकार आबद्ध रहेको सिरिजको घोषणा र प्रोमो सार्वजनिक गर्न पाउनु हाम्रो संस्थाका लागि गौरवको विषय हो। प्रोमोले नेपाली मौलिकता झल्काएको छ। नेपालीपन बोकेको उत्कृष्ट सिरिज बन्ने विश्वास लिएका छौं,” उनले भने।
सिरिजका लेखक, निर्देशक तथा मुख्य अभिनेता श्रीप्रसाद थापाका अनुसार ‘यो कथा होइन’ केवल मनोरञ्जनका लागि निर्माण गरिएको सिरिज नभई नेपाली समाजको इतिहास र यथार्थलाई उजागर गर्ने प्रयास हो।
“धेरै समयपछि आफ्नै कथा, लेखन र निर्देशनमा यो सिरिज ल्याएको हुँ। यसमा करिब १०० वर्षअघिको नेपाली समाजको चित्र प्रस्तुत गरिएको छ। त्यतिबेलाको जीवनशैली, सामाजिक अवस्था, जातीय विभेद र सामाजिक विभाजनलाई यथार्थपरक रूपमा देखाउने प्रयास गरेका छौं। समाजका धेरै पक्ष यस सिरिजमा समेटिएका छन्,” उनले बताए।
सिरिजको कथा, लेखन, निर्देशन तथा मुख्य अभिनय श्रीप्रसाद थापाले गरेका छन्। छायांकन सागर खड्का, घरश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेलले गरेका छन् भने भिडियो सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ। सह–निर्देशन सन्देश लामिछाने र दीप्त प्रकाशले गरेका छन्।