आक्रोशित बने लेखक–निर्देशक आकाश बराल, ‘जिरो डिग्री’ तिहारमै आउने स्पष्ट

0 Shares

काठमाडौं । लेखक तथा निर्देशक आकाश बरालले आफ्नो आगामी फिल्म ‘जिरो डिग्री’ को प्रदर्शन मितिबारे फैलिएको भ्रमप्रति असन्तुष्टि जनाउँदै तथ्य पुष्टि नगरी सार्वजनिक टिप्पणी नगर्न आग्रह गरेका छन्।

यसअघि ‘बेहुली फ्रम मेघौली’ लेखन तथा निर्देशन गरेका बरालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै फिल्म उद्योगले सबैभन्दा धेरै गुमाइरहेको कुरा पैसा नभई विश्वास भएको उल्लेख गरेका छन्।

उनले फिल्मको प्रदर्शन मिति अनुमान वा अड्कलबाजीको विषय नभएको भन्दै त्यसको पछाडि महिनौंको योजना, वितरण सम्झौता, मार्केटिङ, प्रदर्शकसँगको समन्वय र सयौं व्यक्तिको मेहनत जोडिएको बताए।

बरालले केही सामग्रीमा ‘तिहारमा कुनै फिल्म छैन’ भन्ने आशय प्रस्तुत गरिएकोप्रति आपत्ति जनाउँदै आफ्नो फिल्म ‘जिरो डिग्री’ को तिहार प्रदर्शन मिति एक महिनाअघि नै आधिकारिक रूपमा घोषणा भइसकेको स्मरण गराएका छन्।

उनका अनुसार यस्ता आधारहीन दाबीले एउटा फिल्म मात्र नभई सम्पूर्ण निर्माण टिमको विश्वसनीयतामा असर पार्ने, दर्शकमाझ भ्रम सिर्जना गर्ने र समग्र फिल्म उद्योगमा गलत सन्देश जाने जोखिम हुन्छ।

“हामी सबैबाट गल्ती हुन सक्छ। गल्ती स्वीकार्न सकिन्छ, तर लापरवाही स्वीकार्न सकिँदैन,” उनले लेखेका छन्।

बरालले सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्नुअघि तथ्य पुष्टि गर्नु आवश्यक रहेको उल्लेख गर्दै भ्युज, रिच वा चर्चाको लागि अपुष्ट जानकारी सार्वजनिक गर्ने प्रवृत्तिले मेहनत गरिरहेका फिल्मकर्मीलाई प्रत्यक्ष असर गर्ने बताएका छन्।

फिल्म निर्माण प्रक्रिया अत्यन्त संवेदनशील र योजनाबद्ध हुने उल्लेख गर्दै उनले सार्वजनिक रूपमा बोल्ने वा सामग्री प्रकाशित गर्ने व्यक्तिले आफ्नो शब्दप्रति जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्।

स्टाटसको अन्त्यमा बरालले पुनः स्पष्ट पार्दै आधिकारिक घोषणा अनुसार ‘जिरो डिग्री’ तिहारमै प्रदर्शनमा आउने बताएका छन्।

चलचित्र ‘बेहुली फ्रम मेघौली’ का निर्देशक–लेखक जोडी सजन काफ्ले र आकास बरालले ‘जिरो डिग्री’ को संयुक्त निर्देशन तथा पटकथा लेखन गरेका हुन्।

सम्बन्धित समाचार

सबै