काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘अक्षरा’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हासिल गरेको छ। फिल्मको दक्षिण कोरिया प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ ले खरिद गरेको निर्माण टिमले जनाएको छ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको प्रदर्शन मिति घोषणा भएसँगै दक्षिण कोरियाको वितरण अधिकार बिक्री भएको हो। यससँगै दक्षिण कोरियामा रहेका नेपाली दर्शकले पनि हलमै ‘अक्षरा’ हेर्न पाउने भएका छन्।
निर्माण पक्षले फिल्मको वितरण अधिकार कति रकममा बिक्री गरिएको हो भन्नेबारे भने खुलाएको छैन। प्रदर्शनअघि नै विदेशी बजारमा फिल्मको अधिकार बिक्री हुनुलाई नेपाली फिल्म उद्योगका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।
सोनी थापा (ढुङ्गाना)को प्रस्तुतिमा बनेको फिल्मलाई विनय राज पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिनेछन्।
अभिनेत्री न्यान्सी खड्का यसअघि व्यावसायिक रूपमा सफल फिल्म ‘१२ गाउँ’ मा अभिनय गरिसकेकी छन्।
फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन्। कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनय राज पौडेलले संयुक्त रूपमा तयार गरेका छन्।
फिल्ममा दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्म वितरण गर्नेछन्।
‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।