भदौ १९ मा रिलिज हुने ‘क का कि की’को पहिलो झलक यस्तो देखियो

0 Shares

काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म **‘ककाकिकी’**को पहिलो झलक (फर्स्ट लुक टिजर) सार्वजनिक गरिएको छ। माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा ‘कमेडी दरबार’ टिमले निर्माण गरेको फिल्मले पहिलो झलक सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचार अभियान सुरु गरेको हो।

झण्डै तीन मिनेट लामो झलकले ‘कुलेबारी’ नामक काल्पनिक गाउँलाई केन्द्रमा राख्दै गाउँको विकासका लागि केही गर्ने सपना बोकेका पात्रहरूको कथा संकेत गर्छ। झलकमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी गाउँको भविष्यबारे योजना बनाइरहेको दृश्य देख्न सकिन्छ।

झलकका संवादले फिल्मको हास्य शैलीलाई पनि उजागर गर्छ। “गाउँका लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला है?” भन्ने रेखा थापाको प्रश्नमा गौरी मल्लले “एउटा सालिक त बनाउलान् नि हरामीहरूले” भन्ने संवाद बोल्छिन्। त्यसपछि तृप्ति नाडकरले “अब हामी नै मिस्त्री भएपछि सालिक कसले बनाइदेला त?” भन्दै रमाइलो जवाफ फर्काएकी छन्।

पहिलो झलक सार्वजनिक कार्यक्रममा निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले आफूहरूले इमान्दारीपूर्वक मेहनत गरेर फिल्म निर्माण गरेको बताउँदै अन्तिम मूल्यांकन दर्शककै हातमा रहेको प्रतिक्रिया दिए।

“हामी अहिले नै उत्कृष्ट फिल्म बनायौं भनेर दाबी गर्दैनौं। राम्रो बनाउने प्रयास गरेका छौं, अब निर्णय दर्शकले गर्नुहुनेछ,” निर्देशक बिक्की अगरवालले भने।

निर्देशक श्रद्धा प्रसाईंले कलाकार र प्राविधिक टोलीको पूर्ण साथले आफूहरू फिल्मको नतिजाप्रति विश्वस्त रहेको बताइन्।

कार्यक्रममा कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतले छायांकनका अनुभव साझा गरेका थिए।

फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको पनि अभिनय रहेको छ।

फिल्मको कथा तथा लेखन निर्देशक बिक्की अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन्। निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् भने कन्सेप्ट सुमन अग्रवालको रहेको छ। स्क्रिप्ट डक्टरका रूपमा विश्वास तिमल्सिना (बीटी कान्छा) रहेका छन्।

सुदीप बरालको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्। मेकअप अनिस तामाङ, कस्ट्युम डिजाइन सुमन परियार र प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन्।

फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ। ‘ककाकिकी’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै