काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर सोमबार पोस्टर सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।
निर्माण पक्षका अनुसार प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले दोस्रो पोस्टर सार्वजनिक गरिएको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्कालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। उनीहरूको गम्भीर अभिव्यक्ति र पोस्टरको कलर टोनले फिल्म सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित रहेको संकेत गर्छ।
पोस्टरमा दुवै कलाकार एकअर्काबाट विपरीत दिशातर्फ फर्किएको देखिन्छ। उनीहरूको भावभंगिमाले सम्बन्धमा आएको दूरी, असमझदारी, भावनात्मक द्वन्द्व वा परिस्थितिले सिर्जना गरेको बिछोडको संकेत गरेको अनुमान गर्न सकिन्छ। पृष्ठभूमिमा देखिएको भीडभाडले पात्रहरूको सम्बन्धमा समाजको प्रभाव र दबाबसमेत झल्काएको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्कासँगै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिनेछन्।
निर्माण टिमका अनुसार कलाकारहरूले भूमिकाका लागि विशेष मेहनत गरेका छन् भने फिल्मको छायांकन करिब डेढ महिनामा सम्पन्न गरिएको हो।
सोनी थापा (ढुङ्गाना)को प्रस्तुतिमा बनेको फिल्मलाई विनय राज पौडेलले निर्देशन गरेका हुन्। निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्।
फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनय राज पौडेलले संयुक्त रूपमा तयार गरेका छन्। दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन्।
‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।