हातमा हतकडी, अँगालोमा दुलही: ‘बेहुली’को पोस्टर सार्वजनिक, भदौ २६ मा रिलिज

0 Shares

काठमाडौं — आगामी हरितालिका तीजको अवसर पारेर नेपाली फिल्म ‘बेहुली’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति काठमाडौंमा आयोजित विशेष समारोहमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरले गहिरो भावनात्मक प्रेमकथा र सामाजिक द्वन्द्वको संकेत गर्छ। पोस्टरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) गम्भीर भावमा देखिएका छन् भने उनको हातमा हतकडी लगाइएको छ। रातो विवाह पहिरन र गहनामा सजिएकी अभिनेत्री दिव्या रायमाझीले आँखा चिम्लिँदै पारसको छातीमा टाउको अडेसाएकी छन्। हतकडी लगाइएको पात्रलाई बेहुलीको भावनात्मक आलिङ्गनले कथाभित्र प्रेम, संघर्ष र सम्बन्धको जटिल आयाम प्रस्तुत गर्ने संकेत दिएको छ।

श्रीधर पौडेलले खिचेको तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टर डिजाइन गरेका हुन्।

पोस्टर सार्वजनिक कार्यक्रममा पारस र दिव्या पोस्टरकै लुक्समा मिडियासामु प्रस्तुत भएका थिए। दिव्या बेहुलीको पहिरनमा थिइन् भने पारसको हातमा हतकडी थियो। मञ्चमा उनीहरूले प्रस्तुत गरेको दृश्यले उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान आकर्षित गरेको थियो।

फिल्ममा पारस र दिव्यासँगै सुशान्त कार्कीको पनि प्रमुख भूमिका रहेको छ। ‘होस्टेल ३’बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यसपटक परिपक्व प्रेमकथामा दिव्याको जोडीका रूपमा देखिँदै छन्। युवापुस्तामाझ लोकप्रिय कुलब्वाय र दिव्याको नयाँ अनस्क्रिन केमेस्ट्रीप्रति दर्शकमाझ उत्सुकता देखिएको निर्माण पक्षको विश्वास छ।

‘होस्टेल ३’मा सहकार्य गरेका सशान कँडेल र माधव शर्माको टोलीले नै ‘बेहुली’ निर्माण गरेको हो। माधव शर्माको कथामा सशान कँडेलले निर्देशन गरेका छन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक हुन् भने योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशकका रूपमा रहेका छन्।

फिल्ममा पारस, दिव्या र सुशान्तसँगै पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय रहेको छ।

प्राविधिक टोलीमा नरेन्द्र मैनाली (छायांकन), विकास दाहाल (सम्पादन) र रोशन श्रेष्ठ (एक्सन निर्देशन) छन्। अर्जुन पोखरेलले संगीत दिएका छन्। प्रताप शमशेर राणा निर्माता हुन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको फिल्ममा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको कस्ट्युम डिजाइन रहेको छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।

सम्बन्धित समाचार

सबै