काठमाडौं । लोकप्रिय कमेडियन प्रभात लामा नेपाली फिल्म **‘तीन तीघ्रे क्या बिग्रे’**मा मुख्य भूमिकामा अनुबन्धित भएका छन्। टेलिभिजन, डिजिटल प्लेटफर्म र स्टेजमार्फत कमेडीका कारण लोकप्रिय बनेका प्रभात अब पहिलोपटक नायकका रूपमा ठूलो पर्दामा देखिने भएका हुन्।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई अमरदीप सापकोटाले लेखन तथा निर्देशन गर्दैछन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन यही सातादेखि सुरु हुनेछ।
फिल्ममा अनुबन्धित भएपछि प्रभात लामाले पहिलोपटक मुख्य भूमिकामा अभिनय गर्न पाउँदा आफू उत्साहित रहेको बताएका छन्। निर्माण पक्षले पनि उनको हास्य अभिनयले दर्शकलाई नयाँ स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास व्यक्त गरेको छ।
फिल्मका निर्माता रघुनाथ सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित कलाकारहरूको पनि सशक्त उपस्थिति रहनेछ।
फिल्ममा चर्चित गायक पशुपति शर्माका गीत समावेश गरिनेछन् भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।
यसअघि नै फिल्मका लागि गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त तथा कलाकार समिया कार्की मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
निर्देशक अमरदीप सापकोटाका अनुसार पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको **‘तीन तीघ्रे क्या बिग्रे’**ले हास्य, मनोरञ्जन र नयाँ स्वादसहितको पारिवारिक फिल्मको अनुभव दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य राखेको छ।