काठमाडौं । ‘दले दाइ’ नामबाट चर्चित कमेडियन सुमन कोइरालाले नेपाली फिल्ममा डेब्यू गर्ने भएका छन्। उनी मुख्य भूमिकामा रहने पूर्ण हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’को शुभमुहूर्त सम्पन्न भएसँगै निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको वैदिक विधिअनुसार पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो। निर्माण टिमका अनुसार फिल्मको छायांकन असार २९ गतेदेखि सुरु हुनेछ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा निर्माण हुन लागेको फिल्मलाई समीरले निर्देशन गर्दैछन्। शुभमुहूर्त कार्यक्रममा निर्देशक समीरले फिल्मले सुरुदेखि अन्त्यसम्म दर्शकलाई हँसाउने विशुद्ध पारिवारिक हास्यव्यङ्ग्य प्रस्तुत गर्ने बताए।
निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले उत्कृष्ट पारिवारिक कमेडी फिल्म निर्माण गर्ने लक्ष्यका साथ टिम अघि बढेको उल्लेख गर्दै दर्शकको मन जित्नेमा विश्वास व्यक्त गरे।
कार्यकारी निर्माता तथा कथाकार आभास अधिकारीले समाजमा भइरहेका रमाइला र ठट्यौली घटनालाई हास्य शैलीमा पर्दामा उतार्ने प्रयास गरिएको बताए।
फिल्ममार्फत पहिलोपटक ठूलो पर्दामा देखिन लागेका सुमन कोइरालासँगै धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रेअर राई, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्मका सह-निर्मातामा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन्।
विशाल कक्षपतिको छायांकन रहने फिल्ममा अभिषेक कार्कीको संगीत रहनेछ। पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा तयार गरेका हुन्।
मुख्य सहायक निर्देशकमा करणबहादुर साउद, प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने तथा प्रोडक्सन डिजाइनरमा रबिन काजी शाक्य रहेका छन्। कोरियोग्राफी प्रदीप लामा र सियोन श्रेष्ठले गर्नेछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले सम्हाल्नेछन्।
निर्माण टिमले ‘तिरिमिरी झ्याइँ’लाई दर्शकलाई हँसाउनेसँगै समाजका विभिन्न पक्षलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने पारिवारिक मनोरञ्जनात्मक फिल्मका रूपमा तयार पारिरहेको जनाएको छ।